राजनीतिमा सक्रिय यी ११ नेताहरू गीत पनि लेख्छन्, राजेश हमालको फिल्मको लागि लेखेका थिए गीत

राजनीतिको पृष्ठभूमिका गीत-संगीतको भूमिका महत्वपूर्ण छ । त्यसैले पनि होला, राजनीतिमा सक्रिय कतिपय नेता विभिन्न कालखण्डमा यससँग निकट भए । राजनीतिक व्यस्तताबीचमै पनि गीत–संगीतमा सक्रिय नेता अहिले पनि छन् । प्रधानमन्त्रीदेखि विद्रोही पार्टीका नेतासमेत गीत लेख्छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लक डाउनको समयमा लेखेको गीतले निकै चर्चा पायो । जेठ तेस्रो साता त उनले रचना गरेको गीतको एल्बम नै निस्कियो । ओलीमात्रै होइनन्, नेपाली राजनीतिमा सक्रिय धेरै नेताहरू कला–साहित्य रचनामा रुचि राख्छन् । त्यसमध्ये गीत विधा एक हो । यहाँ गीत विधामा कलम चलाउने नेताको चर्चा गरेका छौँ। यो लेख साप्ताहिक नामक राष्ट्रिय साप्ताहिक पत्रिकामा प्रकाशित छ।

प्रधानमन्त्री ओली

‘समृद्ध नेपाल, खुसी नेपाली’ प्रधानमन्त्री ओलीले रचना गरेको गीतको एल्बम हो । सो एल्बममा प्रधानमन्त्री ओलीको ‘स्वदेशमै रोजगारी स्वदेशमै बास, रोजिँदैन प्रवास’ बोलको गीत पनि समेटिएको छ । उनले २०७२ चैतमा आफ्नो पहिलो गीत लेखेका थिए । राष्ट्रिय सेवा दलको कार्यक्रममा जङ्गीअड्डा भद्रकाली पुगेका ओलीले त्यहाँ बजेको गीत मन नपरेपछि आफैँ गीत रचना गरेको उनीनिकट नेताहरू बताउँछन् । उनले सोही कार्यक्रममा ‘म मेरो देश बनाउँछु’ गीतको भावसमेत सुनाएका थिए । त्यसको दुई वर्षपछि राष्ट्रिय सेवा दलको १३ औँ दीक्षान्तको अन्तिममा प्रधानमन्त्री ओलीको सोही गीतमा नाचकला प्रस्तुत गरिएको थियो । उनी गीत लेख्नमात्र होइन, तबला र बाँसुरी पनि बजाउँछन् ।

झलनाथ खनाल

राजनीतिक वृत्तमा गीत–संगीतका पारखीको पहिचान बनाएका नेता हुन्, पूर्वप्रधानमन्त्री झलनाथ खनाल । २०७५ चैतमा ‘परिवर्तनका स्वर भाग–२’ गीति एल्बम सार्वजनिक गर्दै खनालले आफू राजनीतिक व्यक्ति भए पनि परिवर्तनका लागि गीत लेख्ने गरेको बताएका थिए । साहित्यमा जेएन खनालको नामले परिचित उनको यो दोस्रो गीति एल्बम हो । उनको पहिलो गीति एल्बम ‘परिवर्तनका स्वरहरू ’ २०६५ सालमा सार्वजनिक भएको थियो । सो एल्बममा रहेको ‘मातृभूमि नेपाल हाम्रो’ गीतमा खनालले अभिनयसमेत गरेका छन् । पछिल्ला वर्षमा राजनीतिमा खासै व्यस्त नरहेका खनाल आफ्नो समय गीत, संगीत र साहित्यमा खर्चिरहेका छन् । प्रगतिशील गीत लेख्न रुचाउने खनाल घरमा दोहोरी गीत पनि मज्जाले सुन्छन् । दुई एल्बम सार्वजनिक भए पनि उनले डायरीमा सयभन्दा धेरै गीत लेखिसकेका छन् । खनाल सानैदेखि गीत–संगीतमा रुचि राख्थे ।

कमल थापा

पूर्व उपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष कमल थापा कुशल गीतकारका रूपमा चिनिन्छन् । राजेश हमालको पहिलो फिल्म युगदेखि युगसम्मको चर्चित गीत ‘तीन पाते डाँडा काटेर’ का रचनाकार थापा नै हुन् । उनले गीति एल्बम पनि निकालेका छन्, ‘मेरो प्यारो नेपाल’ । यो एल्बम २०७५ साल फागुनमा विमोचन भएको थियो । त्यस्तै, राप्रपाका लागि थापाले ‘राष्ट्रवादी पार्टी हाम्रो राप्रपा’ लेखेका थिए । ‘शुभकामना नयाँ वर्ष, नयाँ जीवनलाई’ बोलको उनको गीतलाई पनि धेरैले मन पराएका छन् । यो गीत प्रत्येक नयाँ वर्षमा रोजाइमा पर्ने गर्छ ।

प्रदीप ज्ञवाली

परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली साहित्यमा साहित्यमा ‘शीतबिन्दु’को नामले परिचित छन् । उनका उपन्यास, कथा, कविता र गीति एल्बम सार्वजनिक भइसकेका छन् । २०७६ बैशाखमा उनले रचना गरेको ‘अट्टालिका’ बोलको गीत बजारमा आएको थियो । देशभक्ति र प्रेमभावपूर्ण गीत लेख्न रुचाउने ज्ञवालीका ‘सहरहरूसँग एउटा प्रश्न सोधिरहेछ गाउँ’ र ‘ओ मेरी प्रिया’ गीत चर्चित छन् । ‘आस्था ओ मेरी प्रिया’ ज्ञवालीले २०५२ सालमै लेखेको कविता हो । यसलाई हालसालै गीतमा ढालिएको छ ।

भीम रावल

पूर्व उपप्रधानमन्त्री एवं नेकपा नेता भीम रावल पनि गीत लेख्छन् । २०७६ बैशाख १ गते प्रज्ञा प्रतिष्ठान नेपालमा भएको एक कार्यक्रममा उनको गीत ‘नौलो साल उदायो’ गुञ्जिएको थियो । कविता संग्रह प्रकाशित गरेका रावलले गीति एल्बम भने सार्वजनिक गरेका छैनन् । तर, उनले थुप्रै गीत डायरीमा लेखेर राखेका छन् । २०७५ भदौमा टुँडिखेलमा आयोगित गौर पर्व कार्यक्रममा रावलले ‘देशभक्ति फुल्दै रहोस्’ बोलको गीत सुनाएका थिए । २०३३ सालमा राजकाज मुद्दामा जेल परेपछि रावलले जेल जीवनमै गीत र कविता लेख्न थालेका हुन् । यो क्रम आजसम्म पनि रोकिएको छैन । एउटा ‘पर्खेर बस्दा’ बोलको र अर्को निर्वाचनका बेला प्रचारप्रसारका लागि गाएको गीत संगीतसहित सार्वजनिक भएको नेता रावलले साप्ताहिकलाई जानकारी दिए । लकडाउनको समयमा पनि उनले गीत लेखिरहेका छन् । उनी भन्छन्, ‘मैले थुप्रै गीत लेखेको छु । राजनीतिक व्यस्ततामा कारण एल्बम नै निकाल्न भने सकेको छैन ।’ उनी कुनै दिन गीति एल्बम निकाल्ने सोचमा छन् ।

विश्वप्रकाश शर्मा

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले रचना गरेको गीत ‘आऊ माया गरौँ’ चैत दोस्रो साता सार्वजनिक भयो । गीतमा मौसम परिवर्तन र परिवर्तनका कारण आउने समस्याबारे जुध्न प्रेरित गरिएको छ । शर्माले कांग्रेसको राष्ट्रिय जागरण अभियानमा समेत गीत लेखेका थिए । सो गीत नेपालमा बोलिने विभिन्न १२ भाषामा लेखिएको थियो । उनी आफ्नो गीतमा संगीत पनि भर्छन् । ८ वर्षअघि नेपाल जेसिसको ‘देश’ एल्बमदेखि आफ्नी छोरीको नाममा निकालिएको ‘स्वीकृति’ एल्बमका रचना पनि शर्माकै हुन् । शर्माका अनुसार उनले हालसम्म करिब ५० गीत लेखेका छन् । नेपाल संगीत विद्यालयमा भर्ना भएर संगीत सिकेका शर्मा आत्मसन्तुष्टिका लागि गीत लेख्ने बताउँछन् । साथै उनी मानिसले बोल्न नसकेका कैयौँ कुरा गीत–संगीतले बोल्ने र गीत भनेको सुख र दुःखको सारथी पनि भएको तर्क गर्छन् । शर्मा स्कुल पढ्दादेखि नै गीत, कविता र गजल लेख्ने गर्थे । रमाइलो त के छ भने उनले लेखको गीतमा उनकी श्रीमती कविताले स्वर भर्छिन् । कविता पनि संगीतकी साधक हुन् ।

प्रदीप नेपाल

पूर्वमन्त्री एवं नेकपा नेता प्रदीप नेपाल पनि साहित्यमा उत्तिकै सक्रिय छन् । उनले केही गीत पनि लेखेका छन् । नेपालले भूमिगत कालमा थुप्रै गीत लेखेर आफैँ गाएका थिए । गीति एल्बम ननिकालेको भए पनि २४ वटा गीत गायनका लागि दिएको उनले जानकारी दिए । त्यसमध्ये केही गीत सार्वजनिक भइसकेका छन् भने केहीमा संगीत भर्ने काम भइरहेको छ । ‘मेरो प्राथमिकतामा गीतभन्दा साहित्य लेखन पर्ने हुँदा त्यतातिर बढी समय खर्चन्छु’ नेपाल भन्छन्, ‘गीतचाहिँ साथीहरूको आग्रहमा लेख्ने गर्छु ।’ उनलाई मन पर्ने आफ्नै गीत भने ‘भोजपुर वन्दना’ हो । उनले यो गीत २०५७ सालमा भोजपुरबाट काठमाडौं फर्किएपछि लेखेका थिए । उनको ‘पश्चिम फाँट धरधरी रोयो’ बोलको गीत पनि चर्चित छ ।

प्रभु साह

पूर्वमन्त्री एवं हालका सांसद प्रभु साह भोजपुरी गीत लेख्छन् । साहले गत वर्ष सार्वजनिक भएको ‘हमनिके भगिया’ नामक भोजपुरी गीतको परिकल्पना गरेका थिए । उनले हालसम्म ३ वटा गीति एल्बमसमेत निकालिसकेका छन् । ‘मधेस के माटी’, ‘अवकाश सुतुव’ र ‘मोहरमारिय’ नामक गीति एल्बम भोजपुरी समुदायमा चर्चित छन् । ‘मधेस के माटी’ २०७१ सालमा सार्वजनिक भएको थियो । उनले जनयुद्धकालमा गीत लेखन सुरु गरेका हुन् । जुन क्रम हालसम्म पनि चलिरहेको छ ।

केशव झा

राजनीतिमा सक्रियताका कारण संगीत क्षेत्रमा ओझेलमा परेका व्यक्ति हुन् केशव झा । जनता समाजवादीका नेता झाले २०५५ सालमा दाङमा र ०५७ सालमा काठमाडौं आएर संगीतको कक्षा लिए । २०६० सालसम्म उनले मैथिली भाषामा थुप्रै गीत लेखे । अहिले लेखनमा भन्दा गायनमा उनको लगाव बढी छ । राजनीतिमा व्यस्त हुन थालेपछि उनी लेखनभन्दा पनि गायनमा रमाउन थालेका छन् । २०७२ सालमा नेपालको संविधान जारी हुँदा २९ दलीय गठबन्धनको रिले अनसन (२०७३ जेठ) मा झाले ‘तिमी लड या नलड म त लडिरहन्छु’ बोलको गीत गाएर हौसला बढाउने काम गरेका थिए । यो गीतका रचनाकार पनि झा आफैँ हुन् । साप्ताहिकसँग कुरा गर्दै उनले भने, ‘यो गीत बजारमा ल्याउने सोचेको थिएँ । एकता प्रक्रियाका कारण आजभोलि निकै व्यस्त भएको छु । सबै काम सकिएर आराम भएपछि पक्कै यो गीतमा संगीत भरेर सार्वजनिक गर्नेछु ।’

मणि थापा

नेकपा नेता मणि थापा राजनीतिका साथै गीत–संगीतको क्षेत्रमा पनि चर्चा कमाउने नेतामध्येका एक हुन् । माओवादी युद्धकालमा उनले थुप्रै गीत लेखेका थिए, जो त्यतिबेला निकै चर्चित पनि थिए । जेठ पहिलो साता उनले लेखेको ‘शहरले गाउँ धपाउँछ’ बोलको गीत सार्वजनिक भएको छ । बाल्यकालदेखि नै गीत–संगीतमा रुचि राख्ने थापाले २०३८ सालमा रचना गरेको ‘फोकल्याण्डको टापुबाट’ बोलको गीत जनयुद्धकालमा निकै चर्चित थियो, जसमा जीवन शर्माले स्वर दिएका छन् । उनको सबैभन्दा चर्चित गीत भने ‘अरुण तरेर नाना तमोर तरेर’ हो । उनले लेखेका गीतको सोलो एल्बम ‘गाथा’ सार्वजनिक छ । श्रमिक र मजदुरको पक्षमा प्रगतिशील सिर्जना रचना गर्न रुचाउने उनले फिल्म दशगजामा ‘जाऔँ साथी स्वदेश’ र फिल्म भिमदत्तमा ‘वारी डाँडा’ गीत लेखेका छन् ।

विप्लव

नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पनि गीतकार हुन् । उनले २०५४ सालमा पहिलो पटक लेखेको गीत ‘रगतै बग्यो नि, बर्खेनी भेल सरी’ गीतले त्यतिबेला चर्चा बटुलेको थियो । उनले लेखेका ‘तुफानमा जिउने सागरको माझी’, ‘जागै बस साथी’, ‘क्रान्तिकारीको विचार सही’ ‘यो शासन थेग्न कठिन छ साथी’ गीतहरू क्रान्तिकारी वृत्तमा चर्चित छन् । २०७२ सालमा विप्लवले लेखेको ‘कसले बनायो दाजै उडी जाने बस’ बोलको गीतले पनि चर्चा पायो । सामाजिक–राजनीतिक परिवेश, विषयवस्तु र घटनाक्रममा आधारित भएर गीत लेख्न रुचाउने उनी हाल अर्धभूमिगत जीवन बिताइरहेका छन् । तथापि उनको गीत संगीतप्रतिको रुचि नघटेको उनीनिकट नेताहरू बताउँछन् ।

प्रकाशित : मङ्गलबार, माघ २०, २०७७११:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कामचलाउ सरकारले निस्फिक्री गर्यो ठुलो सङ्ख्यामा आसेपासेलाई नियुक्ति, चौतर्फी विरोध