नेपालका लेग स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को टी–२० अन्तर्राष्ट्रिय वरीयतामा ४१ स्थान सुधार गरेका छन्।
आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा सन्दीप ७५औँ स्थानमा उक्लिएका हुन्। यस्तै ललित राजवंशीले वरीयतामा राम्रो छलाङ मारेका छन् ।
ललित २९ स्थान सुधार गर्दै ५४औँ स्थानमा उक्लिएका छन् । सन्दीपले हालै स्कटल्यान्डमा भएको सिरिजको चार खेलमा ११ विकेट लिएका थिए । ललितले पनि सिरिजमा चार विकेट लिएका थिए ।
यस्तै अलराउन्डतर्फ दीपेन्द्रसिंह ऐरी तेस्रो स्थानमा यथावत् छ। कुशल भुर्तेल ६ स्थान सुधार गर्दै ३२औँ स्थानमा छन्। ब्याटिङमा कुशल १० स्थान सुधार गर्दै ८३औँ स्थानमा उक्लिएका छन् ।
वरीयतामा कप्तान रोहितकुमार पौडेल र आसिफ शेख दुई स्थान खस्किँदा दीपेन्द्रसिंह ऐरी यथास्थानमा छन्। रोहित ६६औँ, आसिफ ७७औँ दीपेन्द्य्र ६१औँ स्थानमा छन्।
यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय ब्याटिङ वरीयतामा आरिफ शेख १३ स्थान सुधार गर्दै ९०औँ स्थानमा उक्लिएका छन् । ओपनर आसिफ शेख ९४ र रोहितकुमार पौडेल ९९औँ स्थानमा छन् । आसिफ चार रोहित एक स्थान खस्किएका हुन् ।
यस्तै ओपनर कुशल भुर्तेल एक स्थान सुधार गर्दै ८७औँ स्थानमा छन्। नेपाल टी–२० वरीयतामा १८औँ र एकदिवसीयमा १७औँ स्थानमा यथावत छ ।