नेपाली टोलीले अस्ट्रेलियामा ६ खेल खेल्ने

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीले आउँदो अगस्ट महिनामा अष्ट्रेलियामा आयोजना हुने टप ईन्ड टी–२० सिरिजमा भाग लिने भएको छ। यो प्रतियोगितालाई नेपाली टोलीको टी–२० विश्वकप छनोटको तयारीको रुपमा हेरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार, उक्त सिरिज अगस्ट १४ देखि २४ सम्म डार्विनमा हुनेछ। नेपाली टोलीले यस प्रतियोगितामा सहभागी भएर विश्वकप छनोटको तयारीलाई थप सशक्त बनाउने लक्ष्य राखेको छ।

अक्टोबरमा नेपालले आईसीसी टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक छनोट खेल्नुपर्नेछ भने सेप्टेम्बरमा वेस्ट इन्डिजसँग ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय शृंखला पनि तय भइसकेको छ। त्यसैले अष्ट्रेलियाको यो सिरिज नेपाली टोलीका लागि महत्वपूर्ण अभ्यासका रूपमा देखिएको छ।

यस सिरिजमा नेपालले कम्तीमा ६ वटा टी–२० खेलहरू खेल्नेछ, जुन डिएक्ससी एरेना, टीआईओ स्टेडियम र काजाली एरेनामा आयोजना गरिनेछन्। अष्ट्रेलियाको प्रतिस्पर्धात्मक वातावरणमा खेल्ने अवसर नेपाली खेलाडीहरूको अनुभव वृद्धि गर्न मद्दत गर्ने विश्वास क्यानले व्यक्त गरेको छ।

टप ईन्ड टी–२० सिरिजमा चार अन्तर्राष्ट्रिय टोलीसहित कुल ११ टिम रहने छन्, जसमा अष्ट्रेलियाका ६ राज्य टोलीहरू र स्थानीय टिम एनटी स्ट्राइक पनि सहभागी हुनेछन्।

क्यानले प्रतियोगिताको सम्पूर्ण तालिका र सहभागी टोलीहरूको विवरण छिट्टै सार्वजनिक गरिने जानकारी दिएको छ। उल्लेखनीय कुरा के छ भने, गत वर्षको टप ईन्ड टी–२० सिरिज १२९ भन्दा बढी देशहरूमा प्रशारण भएको थियो र लाखौं दर्शकले हेरेका थिए।

प्रकाशित : शुक्रबार, असार १३, २०८२१७:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

काठमाडौँ गुर्खाजले करणसहित ६ खेलाडीलाई गर्यो रिटेन, बाँकी खेलाडीहरुलाई गर्यो रिलिज