विश्वभरका दर्शकहरूलाई लामो समयदेखि प्रतीक्षा गरिरहेको नेटफ्लिक्सको चर्चित कोरियन श्रृङ्खला ‘स्क्विड गेम’ को तेस्रो तथा अन्तिम सिजन शुक्रबारदेखि सार्वजनिक हुँदैछ।
नेटफ्लिक्सका अनुसार, दोस्रो सिजनको रक्तपातपूर्ण समापनपछि सुरु हुने यो अध्यायमा मुख्य पात्र गि-हुन आफ्नो जीवनको सबैभन्दा निराशाजनक मोडमा देखिनेछन्।
उनले आफ्नो निकट साथी गुमाएका छन् र ‘द फ्रन्ट म्यान’ (ली ब्युङ-हुन) को विश्वासघात पनि झेलेका छन्। यसैले उनी मानसिक रूपमा निकै कमजोर र दुःखी अवस्थामा छन्।
तर, ‘स्क्विड गेम’ को डरलाग्दो यात्रा यहाँ रोकिने छैन। गि-हुनले बाँकी खेलाडीहरूसँग अझ खतरनाक खेलमा आफूलाई जोगाउँदै अन्तिमसम्मको लडाइँ गर्नु पर्नेछ।
शृङ्खलाका लेखक तथा निर्देशक ह्वाङ डोङ-ह्युकका अनुसार, तेस्रो सिजनको कथा गि-हुनको विगतका गल्ती र असफलतापछि सुरु हुने परिवर्तनको यात्रामाथि केन्द्रित हुनेछ।
सन् २०२१ मा पहिलोपटक रिलिज भएको यो शृङ्खलाले सुरुदेखि नै विश्वभरका दर्शकहरूको मन जितेको छ।
यसले समाजमा व्याप्त असमानता, धनको लोभ र मानवीय क्रूरताको गहिरो चित्रण गर्दै आएको छ।
‘स्क्विड गेम’ सिजन ३ का सबै एपिसोडहरू जुन २७, शुक्रबारदेखि नेटफ्लिक्समा स्ट्रिमिङ हुनेछन्।
निर्माता ह्वाङ डोङ-ह्युकले यसलाई अन्तिम सिजन हुने औपचारिक घोषणा गरिसकेका छन्।
प्रशंसकहरूलाई लेखिएको एक पत्रमार्फत उनले यो कथा यहीं अन्त्य हुने जानकारी दिएका थिए।