नेपालमा स्त्री रोगसम्बन्धी क्यान्सरमा “ओभेरियन क्यान्सर” अर्थात् डिम्बाशय क्यान्सरको कारणले मृत्यु हुनेको संख्या सबैभन्दा बढी रहेको छ । जनचेतना कै अभावका कारण ओभरी क्यान्सरको समस्याबाट धेरै महिलाहरुको ज्यान गैरहेको छ । त्यसैले यो रोगको बारेमा सबैले जान्न आवश्यक छ।
के हो त डिम्बाशय भनेको ?
डिम्बाशय भनेको महिलाको गर्भाशयको दुवै छेउमा हुने एक ग्रन्थी हो। महिनावारी भएको समयमा सम्म हरेक महिना एक बिकसित डिम्ब उत्पादन हुन्छ र यही डिम्ब पाठेघरमा गएर पुरुषको एक शुक्रकीटसंग मिलन हुन्छ र गर्भ बस्ने गर्छ ।
कस्तो अवस्थाका महिलालाई हुन्छ यो रोग ?
अमेरिकन क्यान्सर सोसाइटीको तथ्यपत्र अनुसार, यो रोग ३० वर्षपछि पहिलोपटक आमा बन्ने महिलालाई, सन्तान नभएका महिलाहरुलाई, स्तन क्यान्सर भएको महिलालाई, महिनावारी बन्द भएकाहरुलाई, ४० वर्ष नाघेका महिलाहरुलाई यो रोग हुनसक्ने बताएका छन्। आधाभन्दा धेरै डिम्बाशय क्यान्सर लागेका महिलाहरु ६३ वर्षमाथिका रहेको पाईएको छ।
के यो रोग लागे पछि निको हुन्छ ?
एउटा डिम्बाशयको क्यान्सरले अर्को डिम्बाशयलाई पनि असर गर्ने गर्दछ । यो रोग लागेपछि निको हुन गार्हो हुन्छ तर निको नहुने भने होइन । यो रोग लागेको पहिलो चरणमा नै थाहा पाउन सकियो भने करिब ९० प्रतिशत मामिलालाई नियन्त्रणमा लिन सकिन्छ।
के कारणले लाग्छ यो रोग ?
यो रोगको अहिले सम्म निश्चित कारण थाहा पाउन सकिएको छैन तर विभिन्न अनुसन्धानका अनुसार पारिवारिक इतिहासले गर्दा पनि लाग्न सक्ने बताएका छन्। जस्तै यदी छोरी, बहिनी, दिदी, आमालाई यो रोग लागिसकेको भए बढ्दो उमेरसंगै आफुलाई पनि हुने बिज्ञहरुको अनुमान छ ।
कसरी थाहा पाउने यो रोग लागेको भनेर ?
अधिकांश बिरामीहरु यो रोग लागेको दोस्रो चरणपछि मात्र उपचारका लागि आउने गरेका चिकित्सकहरुले बताएका छन्। र डिम्बाशयको क्यान्सरको प्रारम्भिक स्थितिमै पहिचान गर्ने कुनै खास स्क्रिनिङ टेस्ट अहिलेसम्म बनेको छैन। तर यसका लक्षणहरुबाट यो रोगको अनुमान गर्न सकिन्छ।
लक्षणहरु:
– अपच हुनु
– वाकवाकी लाग्नु
– पिसाबसम्बन्धी बानी बदलिनु
– कब्जियत हुनु
– निरन्तर पिसाब लाग्नु
– भोक नलाग्नु
– कम्मरको हाडनजिक दुख्नु
– पेटमा असजिलो हुनु
– तौल घट्नु
– पखाला लाग्नु