काठमाडौँ : अष्ट्रेलियामा सम्पन्न टप एन्ड टी–२० सिरिज र तयारी खेलहरू सकेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीहरूले टोलीलाई स्वागत गरेका थिए।
११ टिम सहभागी उक्त सिरिजमा नेपाल समूह चरणमै प्रतियोगिताबाट बाहिरिएको थियो।
त्यसपछि टोलीले पाँचवटा अभ्यास खेल खेलेको थियो। अष्ट्रेलियाको स्थानीय क्यापिटल टेरिटोरी (एसीटी) विरुद्ध खेलिएका दुईवटा टी–२० अभ्यास खेलमा नेपाल विजयी भएको थियो।
तर साउथ अष्ट्रेलियासँगको दुई टी–२० अभ्यास खेलमा नेपालले पराजय भोग्यो। यद्यपि त्यही टोलीविरुद्धको एकदिवसीय अभ्यास खेलमा नेपाल दुई विकेटले विजयी बनेको थियो।
आगामी अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोट प्रतियोगिताको तयारीस्वरूप नेपालले अष्ट्रेलियामा यो सिरिज र अभ्यास खेल खेलेको हो।
अब नेपालले दुईपटकको विश्व टि२० विजेता वेस्ट इन्डिजसँग ऐतिहासिक टी–२० सिरिज खेल्नेछ। सिरिज युइर्एको सारजहा क्रिकेट मैदानमा सेप्टेम्बर २७, २८ र ३० तारिख हुनेछ ।