स्वतः हुने डिम्बोत्सर्जनको अवस्थाबाट व्यवस्थित डिम्बोत्सर्जनतर्फ उन्मुख हुँदा चरमोत्कर्षको मूल स्रोत भगांकुर लिंगसँग घर्षण हुने योनीकेन्द्रभन्दा माथि सरेको देखिन्छ । आज सेक्सका क्रममा एकचौथाइ महिलाले मात्र चरमोत्कर्षको आनन्द हासिल गर्ने गरेको अनुमान छ । यो कुनै महिला विशेषको असफलता अथवा शारीरिक कमजोरीको उपज नभई प्रकृतिको निर्देशन हो ।
पुरुष किन चरमोत्कर्षमा पुग्छ ? त्यसको कारण थाहा पाउन अप्ठ्यारो छैन । ‘जर्नल अफ एक्सपेरिमेन्टल जुलोजी’मा हालसालै प्रकाशित एउटा लेखअनुसार वीर्यको सिर्का फालेर महिलाको जननेन्द्रियभित्र शुक्रकीट प्रवेश गराई गर्भाधान प्रक्रिया सम्भव बनाउन पुरुष चरमोत्कर्षमा पुग्ने विधि विकसित भएको हो । सेक्सका क्रममा पुरुषले वीर्यपात गरेर मात्रै चरम सन्तुष्टि हासिल गर्न सक्छ । यसले पुरुषको चरमोत्कर्ष प्रजनन उद्देश्य पूर्ति गर्नेतर्फ लक्षित रहेको देखाउँछ ।
‘तर, महिलाको चरमोत्कर्ष कुन प्रयोजनका लागि अस्तित्वमा छ भन्ने प्रस्ट छैन,’ अनुसन्धानकर्ताद्वय मिहेला पाभ्लिसेभ र प्रा. गुन्टर वाग्नरले लेखमा भनेका छन् ।
उनीहरूका अनुसार महिलाको चरमोत्कर्षले प्रजनन क्रियामा केही योगदान पुर्याउँदैन । ‘त्यसो भए यसको उपादेयता के हो त ?’ उनीहरूले प्रश्न गरेका छन् ।
विभिन्न अनुसन्धानकर्ताले स्तनधारी जीवका विभिन्न प्रजातिमा अनुसन्धान गरेर के दाबी गरेका छन् भने कुनै बेला प्रजनन क्रियामा सघाउ पु¥याउने गुण नै अहिले चरमोत्कर्षका रूपमा महिलामा समेत विकास भएको हो ।
यस्तो निष्कर्ष निकाल्नुअघि अनुसन्धानकर्ताहरूले चरमोत्कर्षको आनन्दमा चुर्लुम्म डुबेको बेला महिलाको शरीरमा उत्सर्जन हुने हार्मोनबारे अध्ययन गरेका थिए । पाभ्लिसेभ र वाग्नरले यस्तै खालको अनुसन्धान अन्य स्तनधारी जनावरमाथि समेत गरेका थिए । जनावरहरूको प्रजनन विधिमा व्यापक भिन्नता भए पनि यसका मूल विशेषताको पहिचान गरी ती विशेषताको विकासक्रम खोतल्ने काम उनीहरूबाट भएको थियो ।
डिम्बोत्सर्जनको विकासक्रम
स्तनधारी जनावरका निश्चित प्रजातिमा पत्तै नपाईकन डिम्बोत्सर्जन हुने गर्छ । जस्तो, भाले बिरालोसँगको सेक्सबाट उत्तेजित भएपछि पोथी बिरालोले वीर्यबाट सेचन हुन योग्य डिम्ब निकाल्छे । बिरालोको तुलनामा महिलाहरूले गर्ने डिम्बोत्सर्जन धेरै हदसम्म व्यवस्थित हुन्छ । किनकि, महिलामामा प्रतिमहिना एकपटक डिम्बोत्सर्जन हुने गर्छ । र, यसमा सेक्सको कुनै भूमिका हुँदैन ।
स्तनधारी जनावरका विभिन्न प्रजातिमा डिम्बोत्सर्जनका यी दुई प्रकार पाइएपछि आरम्भमा महिलाले पनि पुरुषबाट उत्तेजित गराइएपछि डिम्बोत्सर्जन गर्ने गरेको र पछि यो व्यवस्थित डिम्बोत्सर्जनमा रूपान्तरण भएको निष्कर्ष पाभ्लिसेभ र वाग्नरले निकालेका छन् ।
महिला यौनांगको विकासक्रमसम्बन्धी अध्ययनमार्फत समेत अनुसन्धाकर्ताहरूले प्रजनन क्रियामा कुनै बेला चरमोत्कर्षले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको थप प्रमाण फेला पारेका छन् । पत्तै नपाईकन हुने डिम्बोत्सर्जनको अवस्थाबाट व्यवस्थित डिम्बोत्सर्जनतर्फ उन्मुख हुँदा चरमोत्कर्षको मूल स्रोत भगांकुर लिंगसँग घर्षण हुने योनीकेन्द्रभन्दा माथि सरेको देखिन्छ । आज सेक्सका क्रममा एकचौथाइ महिलाले मात्र चरमोत्कर्षको आनन्द हासिल गर्ने गरेको भरपर्दो अनुमान गरिएको छ । पाभ्लिसेभ र वाग्नरका अनुसार यो कुनै महिला विशेषको असफलता अथवा शारीरिक कमजोरीको उपज नभई प्रकृतिको निर्देशन हो ।
अन्य मान्यता
‘किन्से इन्स्टिच्युट फर रिसर्च इन सेक्स, जेन्डर एन्ड रिप्रोडक्सन’की विभागीय अनुसन्धाता एलिजाबेथ लोयड चरमोत्कर्षसम्बन्धी पाभ्लिसेभ र वाग्नरका तर्कसँग सहमत छैनन् । ‘उहाँहरूले सेक्सका क्रममा शरीरभित्र हुने हार्मोन उत्सर्जनको सन्दर्भमा मात्रै चरमोत्कर्षबारे अध्ययन गर्नुभयो, तर महिलाले हासिल गर्ने चरमोत्कर्षले हार्मोन उत्सर्जनबाहेक पनि धेरै कुरा बताउँछ,’ उनले भनिन् । चरमोत्कर्षको सर्वस्वीकृत परिभाषाले कम्मरमुनि र योनीवरपरका मांसपेशीमा आउने संकुचनतर्फ संकेत गर्ने र यसकै आधारमा महिला चरमोत्कर्षको बृहत् अध्ययन गर्नुपर्ने उनी बताउँछिन् ।
सन् २००५ मा एलिजाबेथको ‘द केस अफ द फिमेल अग्र्याजम’ नामक पुस्तक प्रकाशित भएको थियो, जसमा उनले महिलाको चरमोत्कर्षसम्बन्धी अहिलेसम्म प्रकाशित २१ वटा सिद्धान्तबारे विवेचना गरेकी छिन् । अध्ययनपछि सबै सिद्धान्तलाई उनले दुई बृहत् सिद्धान्तअन्तर्गत समाहित गरेकी छिन् ।
सहउत्पादनसम्बन्धी सिद्धान्त उनले प्रक्षेपण गरेको पहिलो बृहत् सिद्धान्त हो । जन्मिएको पहिलो दुई महिनासम्म महिला र पुरुषमा समान गुण हुन्छन् भन्ने जीवविज्ञानले पुष्टि गरेको छ । यही अवधिमा मानव शरीरमा कोषिकालगायत समग्र शरीरको आधार निर्मित हुन्छ । ‘यही अवधिमा पुरुषले निप्पल (स्तनको मुन्टो) र महिलाले चरामोत्कर्षको आधार हासिल गरेका हुन्छन्, जुन उनीहरूका लागि सहउत्पादन हुन् । महिलालाई चाहिने निप्पल पुरुषमा पनि रहन गयो र पुरुषलाई आवश्यक पर्ने चरमोत्कर्षको आधार महिलामा पनि रहन गयो,’ उनी भन्छिन् ।
अर्को बृहत् सिद्धान्त हो– जोडीबन्धन सिद्धान्त । यो सिद्धान्तअनुसार महिला र पुरुषबीच सामीप्य र घनिष्ठता सुनिश्चित गर्न महिला चरमोत्कर्षको आधार तय भएको हो । चरमोत्कर्षका क्रममा हासिल हुने परमआनन्दको लालसाले महिलालाई पुरुषसँग रहन प्रेरित ग¥यो । महिलामा हुने यही गुणकै कारण अधिकतम प्रजनन सम्भव भयो ।
यदि महिला चरमोत्कर्षलाई मानवको क्रमिक विकासको उपज मान्ने हो भने चरमोत्कर्षको अनुभव बढी गर्ने महिलाले बढी सन्तानलाई जन्म दिएको हुनुपर्ने हो । तर, तथ्यांकले त्यस्तो देखाउँदैन । आफ्नो यो दाबी पुष्टि गर्न एलिजाबेथले आठ हजार महिलामाथि गरिएको एउटा अध्ययन प्रतिवेदन प्रस्तुत गरेकी छिन् । त्यसमा चरमोत्कर्ष र सन्तानको संख्याबीच कुनै सम्बन्ध नरहेको पाइएको छ । अर्थात्, बढी चरमोत्कर्षमा पुग्ने महिलाले बढी सन्तान जन्माउने गरेको पाइँदैन ।
अझै उपयोगी छ ?
प्रजनन क्रियामा महिला चरमोत्कर्षको भूमिकासम्बन्धी प्रमाण फेला परेन भन्दैमा यसलाई पुरुष चरमोत्कर्षको ‘सह–उत्पादन’ अथवा ‘साइड इफेक्ट’ मान्न नहुने रुटगेर्स विश्वविद्यालयको मनोविज्ञान संकायका प्राध्यापक बेरी कोमिसारुक बताउँछन् । ‘महिला चरमोत्कर्ष पुरुषको भन्दा भिन्न हुन्छ, यसका विशेषता पृथक खालका हुन्छन् । त्यही भएर यसको उद्देश्य पनि फरक खालको हुनसक्छ, जुन अहिलेसम्म पत्ता लागेको छैन,’ उनले भने ।
महिला चरमोत्कर्षबारे वर्षौंदेखि अध्ययन गर्दै आएका उनले यसबारे धारणा बनाउन मुसामा हुने गर्भाधानको भ्रान्तिबारे अध्ययन गरेका थिए । सन् १९२० को दशकतिर भेसेक्टोमी गरिएको मुसालाई पोथी मुसासँग सम्भोग गराउँदा पोथी मुसामा गर्भाधानको भ्रान्ति देखिएको थियो । पोथी मुसाको शरीरमा हार्मोन उत्सर्जन मात्र होइन, गर्भनाल विकास भएकोसम्म पाइएको थियो । ‘त्यो पढेपछि मैले एनेस्थेसिया सुँघाएर बेहोस बनाइएका र जागेका मुसाहरूका स्नायुबारे अध्ययन गरेँ,’ कोमिसारुकले भने, ‘रोचक कुरा के थियो भने पीडा समन गर्नुपर्दा पोथी मुसाको यौनांग गर्भाधानको भ्रान्ति हुँदाको बखतजस्तै उत्तेजित भएको थियो ।’ महिलामा पनि चरमोत्कर्षको अवधिमा पीडा समन गर्ने क्षमता ५० प्रतिशतले र कसैकसैमा सय प्रतिशतले वृद्धि हुने प्रक्षेपण उनी र उनका विद्यार्थी बेभर्ली विसम्यानगले गरेको एउटा सर्वेक्षणले देखाएको छ । ‘चरमोत्कर्षका क्रममा महिलाको दिमागका सबै प्रणाली सुचारु भएका हुन्छन्, यत्रो ठूलो घटना पक्कै पनि कुनै उद्देश्यप्रति लक्षित हुनैपर्छ,’ उनले भने ।
उनका अनुसार महिला चरमोत्कर्ष महिला र पुरुषबीचको सम्बन्धलाई बलियो बनाउने माध्यम पनि हो । ‘यौन आनन्द महसुस गरेपछि महिला आफ्नो पुरुषसँगै रहन प्रेरित हुन्छिन्, त्यस्तै आफ्नी महिलालाई परमसन्तुष्टि दिने पुरुष पनि आफ्नो क्षमता देखेर मख्ख पर्छ र यो अनुभूतिले उसलाई सम्बन्धप्रति अझ प्रबल बनाउँछ,’ जोडीबन्धन सिद्धान्तसँग मिल्दोजुल्दो भनाइ राख्दै उनले भने ।
कसरी बुझ्ने ?
महिला चरमोत्कर्ष अनुकूलन र जीव विकासक्रमको उपज हो भन्ने धारणा सुरुमा एलिजाबेथले पनि राखेकी थिइन् । तर, पछि उनको धारणा बदलियो । ‘२५ प्रतिशत महिलाले मात्रै सम्भोगका क्रममा चरमोत्कर्षको वास्तविक आनन्द लिएका हुन्छन् र चरमोत्कर्षमा नपुग्ने अथवा आक्कलझुक्कल मात्र पुग्ने महिला एकतिहाइ हुन्छन् भन्ने थाहा पाएपछि मेरो धारणा बदलियो । चरमोत्कर्ष साँच्चिकै अनुकूलन र जीवविकासक्रमको उपज हुन्थ्यो त महिलामाझ यसको यतिबिघ्न असमान वितरण हुने थिएन,’ उनले भनिन् ।
कोमिसारुकका अनुसार महिला चरमोत्कर्षले परम आनन्द दिलाउँछ र महिला–पुरुष सम्बन्धलाई प्रबल बनाउँछ । त्योभन्दा पनि महŒवपूर्ण कुरा के भने यसले दिमागको त्यो भागलाई जागृत गरिदिन्छ, जसले मानिसमा उत्प्रेरणा जगाउने काम गर्छ । अफिमयुक्त निद्राको औषधि सेवनलगायत सबै खाले आनन्ददायक गतिविधिले दिमागको उक्त भागलाई जागृत गर्ने गर्छ ।
महिला चरमोत्कर्षबारे यस्ता विभिन्न मान्यताका बीच पाभ्लिसेभ र वाग्नरले अघि सारेको मान्यताले यस क्षेत्रमा नयाँ बहस सुरु गरेको छ । उनीहरूका अनुसार डिम्बोत्सर्जनको विधिले नयाँ रूप लिएपछि अर्थात् यो व्यवस्थित भएपछि आफ्नो मूल उद्देश्यबाट मुक्त भएर महिला चरमोत्कर्षले सहायक उद्देश्य हासिल गर्न थाल्यो । सहायक उद्देश्यतर्फ ध्यान लगाएर हामी महिला चरमोत्कर्षको उद्भव पत्ता लगाउन सक्दैनौँ भन्ने पाभ्लिसेभ र वाग्नरको धारणा छ । अर्थात्, प्रजननसम्बन्धी उद्देश्यबाट मुक्त भएपछि पनि महिला चरमोत्कर्ष कुनै रहस्यमय कारणले अझै पनि अस्तित्वमा छ । हामीले यो लेख शुक्रबार साप्ताहिकबाट लिएका हौँ ।