नेपाली लेग स्पिनर सन्दीप लामिछानेको ह्याट्रिकसहितको शानदार बलिङ प्रदर्शनले नेपालले पहिलो अभ्यास खेलमा अष्ट्रेलियन क्रिकेट टेरिटरी (ACT) विरुद्ध ४१ रनको जित निकालेको छ।
१ सय ७८ रनको लक्ष्य पछ्याएको ACT टोली १७.२ ओभरमै अलआउट हुँदै १ सय ३६ रनमा रोकियो।
नेपालका लागि सन्दीपले ४ ओभरमा ३१ रन खर्चेर ५ विकेट हात पारे भने करण केसीले २ विकेट, गुलशन झा, रुपेश सिंह र कुशल भुर्तेलले समान १–१ विकेट लिए। ACT का जे स्मिथले ५० रन बनाए पनि रुपेशको बलमा आउट भए। त्यस्तै, ब्रुनकर २७ रनमा अविजित रहे भने केओग्ले २५ रन जोडे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाउँदै १ सय ७७ रनको योगफल बनाएको थियो।
ओपनर आसिफ शेखले ३९ बलमा ५ छक्का र ४ चौकासहित उत्कृष्ट ६९ रन योगदान दिए। कप्तान रोहित पौडेलले २८ बलमा ३६ रन थपे।
आरिफ शेखले २४, दीपेन्द्र सिंह ऐरीले २१ रन बनाए भने गुलशन ८ रनमा नटआउट रहे। अर्का ओपनर कुशल भुर्तेलले ७ रनमा सिमित भए।
भीम सार्की, लोकेश बम र रुपेश सिंह भने खाता खोल्न सकेनन्। बलिङतर्फ ACT का इभान, रहमान, दुबे र ब्रुनकरले समान २–२ विकेट लिए।
टप एन्ड टी–ट्वान्टी सिरिजको समूह चरण पार गर्न नसकेपछि नेपाली टोलीले खेलेको यो पहिलो अभ्यास खेल हो।