एजेन्सी – सूर्य नमस्कारलाई योगहरुमध्येमा सर्वश्रेष्ठ मानिन्छ । यसलाई एक्लै अभ्यास गरेरै सम्पूर्ण योग व्यायामको लाभ लिन सकिन्छ । यस्को अभ्यासले साधकको शरीर निरोगी र स्वस्थ भई आर्कषक बन्दछ । सूर्य नमस्कार महिला , पुरुष , बालबालिका , युवा तथा बृद्धहरुको लागि पनि उपयोगी छ ।
सूर्य नमस्कार १२ योगासनलाई मिलाएर बनाइएको छ । र सबैको छुट्टाछुट्टै महत्व रहेको पाईन्छ । यस्को अभ्यास गर्नेकोे मुटुसम्बन्धी स्वास्थ्य राम्रो हुन्छ । साथै रगतको सञ्चारमा पनि सुधार आउँछ । सूर्य नमस्कारले चिन्ता कम गर्नुको साथै शरीरलाई सफा राख्न पनि मद्धत गर्दछ । सूर्य नमस्कार प्राचिन समयदेखि योग गुरुहरुको बीचमा निकै चर्चित रहेको पाईन्छ । र यो विदेशमा पनि लोकप्रिय छ । सुर्य नमस्कारले तन , मन र वचन तीनैलाई शान्ति र शक्ति प्रदान गर्दछ । त्यसैगरी सूर्य नमस्कारले शरीरको सबै अङ्गहरुलाई क्रियाशील बनाउँछ । जस्ले दिनहुँ सूर्य नमस्कार गर्दछ , उस्को आयु, प्रज्ञा, बल , वीर्य र तेज बढ्दछ ।
सूर्य नमस्कारको १२ विधि:
१) प्राणामासन: एउटा राम्रो ठाउँ खोजीसकेपछि सुकुल ओछ्याई त्यसमा सिधा उभिनुहोस् । यस अवस्थामा तपाइँको दुबै खुट्टा एकआपसमा जोडिएको हुनुपर्छ । त्यसपछि दुइवटै हातलाई जोडि सिधा उभिनुहोस् । र आफ्नो आँखा आरामले बन्द गर्नुहोस् । अब आफ्नो मस्तिष्कलाई शान्त बनाई आफुलाई केन्द्रित गर्नुहोस् । र पहिलो मन्त्र ‘ऊँ मित्राय नम’ भनि सूर्यको आह्वान गर्नुहोस् ।
२) हस्त उत्तानासन:
यस्को लागि तपाइँ सिधा उभिनु भई आफ्नो श्वासलाई भित्र तानी दुबै हातलाई कानभन्दा माथितिर लानुपर्ने हुन्छ । यस अवस्थामा आफ्नो हातलाई माथि तान्नुहोस् । र घाँटीलाई पछाडि ढल्काउनुहोस् ।
३) उत्तानासन:
बिस्तारै आफ्नो श्वासलाई बाहिर निकाल्दै अगाडि झुक्नुहोस् । आफ्नो हातलाई पहिलाको आसनमा जस्तै राखी घाँटीसँगै बिस्तारै तल गई खुट्टाको दायाँ बायाँतिर लग्नुहोस् । यस्मा तपाइँले दुबै हातले पृथ्वीको स्पर्श गर्नुपर्छ ।
४) अश्व सञ्चालनासन:
यस्मा श्वासलाई भित्र लग्दै बायाँ खुट्टालाई पछाडितिर लगी छातीलाई अगाडि तान्नुहोस् । र आफ्नो घाँटीलाई अलि पछाडितिर झुकाउनुहोस् । तपाइँको दायाँ खुट्टा जुन पछाडि छ , त्यसलाई पनि तानेर राख्नुहोस् ।
५) चतुरंग दंडासन:
यस्मा तपाइँलाई आफ्नो श्वासलाई बिस्तारै बाहिर निकाल्दै दायाँ खुट्टालाई पछाडि लानुपर्ने हुन्छ । अब तपाइँको दुबै खुट्टा एकआपसमा जोडिएको हुनुपर्छ । त्यसपछि आफ्नो शरीरलाई पछाडि लगी पृथ्वीसँग मिलाउने कोशिस गर्नुहोस् । आफ्नो पछाडिको भाग सकेसम्म माथि उठाएर घाँटिलाई तल झुकाउनुहोस् ।
६) अष्टांग नमस्कार:
आफ्नो श्वासलाई भित्र लगी जमीनमा सुत्नुहोस् । यस अवस्थामा तपाइँको पुरै शरीरले पुथ्वीको स्पर्श गरिरहेको हुनुपर्छ । यसपछि पछाडिको भागलाई अलि माथि उठाई श्वासलाई छोड्नुहोस् ।
७) भजंगासन:
आफ्नो श्वासलाई बिस्तारै भित्र तान्दै छातीलाई अगाडि लानुहोस् । र हातलाई सिधा पार्नुहोस् । यसपछि घाँटीलाई पछाडि लगी र घँुडाले पृथ्वीको स्पर्श गर्दै खुट्टाको सहायताले उभिनुहोस् । यस अवस्थामा तपाइँको दुबै हात सिधा हुनुपर्छ ।
८) अधोमुक्त श्वानासन:
आफ्नो श्वासलाई विस्तारै बाहिर निकालेर दायाँ खुट्टालाई पछाडि लग्नुहोस् । त्यसपछि दुबै खुट्टालाई एकआपसमा जोड्नुहोस् । अनि पछाडितिर शरीरलाई तानी पुथ्वीमा मिलाउने कोशिस गर्नुहोस् । त्यसपछि पछाडिको भाग माथि उठाई घाँटीलाई तलतिर झुकाउनुहोस् ।
९) अश्व संचालनासन:
सूर्य नमस्कारको नवौं आसनलाई अश्व संचालनासन भनिन्छ । जस्मा तपाइँलाई आफ्नो श्वासलाई भित्र लग्दै बायाँ खुट्टालाई पछाडिपट्टि लानुपर्ने हुन्छ । त्यसपछि आफ्नो छातीलाई अगाडि तन्काई घाँटीलाई पछाडितिर झुकाउनुहोस् ।
१०) उत्तानासन:
यसपछि तपाइँले उत्तानासन गर्नुपर्छ । यो सूर्य नमस्कारको दशौं आसन हो । यस आसनमा तपाइँ आफ्नो श्वासलाई विस्तारै बाहिर निकाल्दै शरीरलाई अगाडितिर झुकाउनुहोस् । हातलाई घाँटिसँगै कानबाट लगी खुट्टाको दायाँबायाँ पृथ्वीलाई स्पर्श गर्नुहोस् ।
११) हस्त उत्तानासन:
एघारौं आसन हस्त उत्तानासनको लागि तपाई आफ्नो हातलाई फेरि माथिसम्म लग्नुभई सिधा माथि तान्नुहोस् । यसमा आफ्नो खुट्टा एकआपसमा जोडि राख्नुहोस् । र माथि जांदा श्वासलाई भित्र तान्नुहोस् ।
१२) प्राणामासन:
यसपछि श्वासलाई विस्तारै बाहिर निकाल्दै दुबै हातलाई अगाडितिर जोड्नुहोस् । पहिलो आसनमा गरेजस्तै यो आसन गर्नुहोस् । यो सूर्य नमस्कारको अन्तिम तथा १२ औं आसन हो ।