सावधान : आमाबुबाको व्यस्तताले पनि बढाउन सक्छ बाल मनोरोग

काठमाडौँ, ५ पुस । सामान्तया बालबालिकाका गतिविधिबारे अभिभावकले गम्भीररुपमा सोच्ने गरेको कमै पाइन्छ । बदलिँदो समय अनुसार आमाबुबाको व्यस्त समयले छोराछोरीसँग बिताउने समय कम दिँदा बालबालिकामा त्यसको असरले मानसिक तनाव पनि बढाएको छ ।

अझ कामकाजी आमाबुबाले आफ्ना छोराछोरीलाई कम उमेरमै स्कुल पठाउने, पठ्न दबाब दिने, बजारको तयारी खाजा बढी खुवाउने विविध कारणले पनि बालबालिकामा गम्भीर असर गरिहरेको चिकित्सकले बताउँदै आएका छन् ।

धेरै चकचक, झगडा गर्ने, स्कुल जान नमान्ने, धेरै मानिस भएको ठाउँमा जान नमान्ने, डराउनेजस्ता समस्या आजकलका बच्चामा देखिन थालेको छ । यस्तो समस्या देखिएमा उनीहरुलाई पिट्ने, हकार्ने वा अन्य सजाय दिनुभन्दा अगाडि अभिभावकले उनीहरुमा कुनै बाल मनोरोगका कारण यस्तो भएको छ छैन भनी सोच्नै पर्ने बताउनुहुन्छ कान्ति बाल अस्पतालका बाल मनोरोग विभागका प्रमुख तथा वरिष्ठ बाल मनोरोग विशेषज्ञ डा अरुण कुँवर ।

उहाँले अभिभावकले बाल मनोविज्ञान बुझ्न नसकेर बालबालिकामाथि नकारात्मक व्यवहार गर्दा त्यसको गम्भीर असर देखिन सक्ने हुँदा सजग हुनुपर्ने बताउनुहुन्छ ।

बच्चाले उमेर अनुसार सोच्ने कुराहरु सोच्न नसक्नु, धेरै रिसाउने, उमेर अनुसार बालबालिकाको मानसिक र बौद्धिक विकास नहुनु र साधारणभन्दा भिन्न खालको बानी व्यवहार देखाउनु बाल मनोरोगको लक्षण हुन सक्छ ।

डा कुँवर बालबालिकामा बाल मनोरोगको लक्षण फरकफरक हुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बालबालिकाले उमेरअनुसार आफ्नो क्षमताले काम गर्न नसक्नु, आवश्यकभन्दा धेरै खुसी हुनु, धेरै रिसाउनु, एउटै कुरालाई पटकपटक दो¥याइरहनुलाई पनि बाल मनोरोगको लक्षणका रुपमा बुझ्नुपर्छ ।”

कान्ति बाल अस्पतालले खासगरी भूकम्पपछि बालबालिका पारेको मानसिक असरबारे परामर्श दिन डेढ वर्षअघि छुट्टै विभागमार्फत सेवा दिन थालेको हो । अहिले आफ्ना बालबालिकाबारे विभिन्न खाले समस्या लिएर देशभरबाट अभिभावक आउने गरेको कुँवरको भनाइ छ ।

गत वर्ष ६०० मात्र बिरामी आएका थिए तर यो वर्ष अहिलेसम्म करिब तीन हजार बढीले उपचार र परामर्श लिएको अस्पतालको तथ्याङ्क छ । हिजोआज देखिने बाल मनोरोग वंशाणुगत र वातावरणीय दुवैको कारणले हुने गरेको देखिएको चिकित्सकको भनाइ छ ।

डा कुँवर भन्नुहुन्छ, “यदि अभिभावकमध्ये कसैलाई डिप्रेसन छ भने बालबालिकालाई बाल मनोरोग हुने सम्भावना धेरै हुन्छ । अभिभावकलाई डिप्रेसन छ र स्कुलमा पनि बालबालिकालाई बालमैत्री खालको व्यवहार गरिँदैन भने यस्तो समस्या बढेको देखिन्छ ।”

अहिले धेरै बालबालिका अचानक बेहोस हुने समस्या पनि बढी देखिएको छ । यो बढी तनावका कारणले हुन्छ । अभिभावकको व्यस्तताको कारण उनीहरुकै समयतालिका अनुसार सबै आफ्ना गतिविधि गर्नुपर्दा बालबालिकामा बढी तनाव थपिएकाले यसतर्फ ध्यान दिनुपर्ने चिकित्सक बताउँछन् ।

बालबालिकालाई खुसी पार्न लामो समयसम्म टेलिभिजन, मोबाइल हेर्न दिँदा पनि त्यसले बालबालिकामा एकोहोरो हुने, रचनात्मक क्षमतामा ह्रास ल्याउने भएकाले उनीहरुलाई रचनात्मक खेल जस्तो लुँडो, क्यारामबोर्डजस्ता खेलमा प्रेरित गर्दा मानसिक र शारीरिक विकासमा सहयोग पुग्ने डा कुँवरको सल्लाह छ ।

प्रकाशित : मङ्गलबार, पुष ०५, २०७३०९:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसरी १ मिनेटमै माइग्रेन सन्चो पार्छ “सीधेनुन” को प्रयोगले