कमिसनकै लागि एक्सरे खरिद, २ दिनमै बिग्रिए मेसिन

काठमाडौ– स्वास्थ्य सेवा विभाग आपूर्ती व्यवस्था महाशाखाले कमिसनकै लागि एक्स–रे मेसिन खरिद खरिद गरेको पाइएको छ । महाशाखाले आवश्यकताको पहिचान र पूर्वाधारलाई मध्यनजर नगरी हचुवाको भरमा एक्स–रे खरिद गरेको हो ।

महाशाखाले बहुवर्षीय ठेक्काअन्तर्गत ४५ वटा एक्स–रे मेसिन खरिद गरेको हो । सामसुङ ब्राण्डका मेसिन ओडोटोनिक्स प्रालिसँग करिब ३४ लाख ९० हजार रुपियाँमा खरिद गरिएको थियो । खरिद गरिएका उपकरण जडान र प्राविधिक कर्मचारीलाई तालिम दिएपछि मात्र भुक्तानी गर्नुपर्ने प्रावधान छ । तर कमिशनको चक्करमा नियमविपरित भुक्तानी दिएको पाइएको छ ।

एक वर्षे ग्यारेन्टी रहेका केही मेसिन जडान गरेको २ दिनमै बिग्रिएको महालेखापरीक्षकको रिपोर्टमा उल्लेख छ । उदयपुर जिल्ला स्वास्थ्य कार्यालयमा २०७२ जेठ १ गते जडान गरिएको मेशिन २ गते नै बिग्रिएर थन्किएको छ । अन्य जिल्लामा पठाइएका मेसिन पनि थन्किएका छन् ।

आपूर्तीकर्ता  ओडोटोनिक्सले प्राविधिकलाई तालिम दिनसमेत अटेरी गरेको छ । २०७२ पुस ३० गते लेखापरीक्षणका क्रममा महालेखापरीक्षकको कार्यालयले स्थलगत निरीक्षण गर्दा प्रायः जिल्लामा एक्स–रे मेसिन जडान नगरिएको भेटिएको थियो ।

महाशाखाले उपकरण सञ्चालनमा आएको गलत प्रतिवेदन तयार पारी आपूर्तीकर्तालाई भुक्तानी दिएको पाइएको छ । विभाग स्रोतका अनुसार कमिशन रकम लिन चाँडै भुक्तानी दिइएको हो । भोजपुर र बझाङमा थ्रिफेज लाइन नभएको स्वास्थ्य संस्थामा मेसिन थन्किएर बसेको छ । एक्स–रे सञ्चालन गर्न थ्रिफेज लाइन आवश्यक पर्छ । त्यहाँका प्राविधिकलाई तालिम पनि दिइएको छैन । ताप्लेजुङ र झापामा आपूर्तीकर्ताले स्टेपलाइजर नदिएका कारण उपकरण सञ्चालनमा आउन सकेको छैन । ४५ एक्स–रे मेसिनमध्ये एउटा मात्र सही तरिकाले सञ्चालनमा आएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।                                       -स्वास्थ्य खबरपत्रिका

प्रकाशित : मङ्गलबार, जेठ ०४, २०७३११:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के हो त ? महिलामा उत्तेजना जगाउने “जी स्पट”