गर्मी मौसममा यस्ता स्वास्थ्य समस्या अाउन सक्छन् – जानी राखाैँ

अब बिस्तारै गर्मी बढ्दै गएकाे छ  गर्मी माैसम शुरू भए सँगै स्वास्थ्य र सुन्दरतामा पनि बिभिन्न किसिमका समस्याहरू अाउन सक्छन् । त्यसैले गर्मीमा स-साना बालबालिका, प्रौढ, र  हृदय तथा उच्च रक्तचापका बिरामी एवं मानसिक रोगीहरूले बढी सतर्कता अपनाउनुपर्ने हुन्छ, कारण उनीहरूलाई हिट स्ट्रोक हुने सम्भावना बढी हुन्छ । यो एउटा खतरनाक समस्या हो, जुन प्राणघातक हुनसक्छ । यसमा शरीरको तापमान १ सय ४ डिग्रीभन्दा माथि हुन्छ । जसका कारण शरीरको भित्री भागमा नकारात्मक प्रभाव पर्छ । पसिना नआउनु, श्वास-प्रश्वास एवं मुटुको धड्कन तेज हुनु, बेहोस हुनु आदि यसका लक्षण हुन् । हिट स्ट्रोक भए सबैभन्दा पहिले बिरामीको निधारमा चिसो पानीको पट्टी राख्नुपर्छ ।

कसरी जोगिने ?

– चर्को घाममा बाहिर ननिस्कने ।

– प्रशस्त मात्रामा पानी पिउने, समय-समयमा ताजा फलफूलको जुस, कागती पानी एवं नरिवल पानी पिउने ।

– खाली पेट घरबाहिर ननिस्कने ।

– चिया-कफी एवं अल्कोहलबाट टाढै रहने ।

– शारीरिक क्रियाकलाप कम गर्ने ।

घरेलु उपाय

– मोही पिउने ।

– प्याजले शरीरको ताजापन बढाउन मद्दत गर्छ । अत: सलादमा काँचो प्याज समावेश गर्ने ।

– हिट स्ट्रोकको ज्वरो कम गर्न इमलीलाई उमालेर त्यसको रसमा सख्खर मिसाएर पिउनुपर्छ ।

– ताजा हरियो धनियाँको जुस निकालेर दिनमा दुई पटक पिउन सकिन्छ ।

फुड पोइजनिङ

गर्मी र नमीका कारण यो मौसममा खानेकुरामा चाँडै ब्याक्टेरिया फैलिन्छ । जसका कारण फुड पोइजनिङ हुनसक्छ । बान्ता आउनु, रिंगटा लाग्नु, ज्वरो, डायरिया, टाउको दुख्नु, शरीर दुख्नु आदि यसका लक्षण हुन् ।

कसरी जोगिने ?

– तुरुन्त राहतका लागि एक गिलास मनतातो पानीमा कागती, नुन र सख्खर मिसाएर पिउनुपर्छ ।

– दूध वा डेरी प्रोडक्टका साथमा ननभेजबाट पनि टाढै रहनुपर्छ ।

– खाना बनाउँदा सरसफाइमा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

– तातो र ताजा खाना खानुपर्छ ।

– शौचालय प्रयोग गरेपछि र खाना खानुअघि अनिवार्य रूपमा एन्टी ब्याक्टेरियल साबुनले राम्रोसँग हात धुनुपर्छ ।

– बजारमा बिक्री हुने खुल्ला खाना खानुहुँदैन ।

घरेलु उपाय

– पेटको जलन र पीडा कम गर्न एक चिया चम्चा महमा केही थोपा अदुवाको जुस मिसाएर सेवन गर्न सकिन्छ ।

– वाकवाकी र पीडाको अवस्थामा तुरुन्त राहत प्राप्त गर्न एक चिया चम्चा दूधमा एक चम्चा मेथीको दाना मिसाएर सेवन गर्नुपर्छ ।

– एक चिया चम्चा कागतीको रसमा एक चिम्टी सख्खर मिसाएर दिनमा तीन पटक सेवन गर्न सकिन्छ ।

– एक चम्चा महमा एक चम्चा तुलसी रस मिसाएर दिनमा ३-४ पटक सेवन गर्नु फाइदाजनक हुन्छ ।

– एउटा लसुनको दाना पानीका साथमा खाँदा पेटको पीडामा आराम प्राप्त हुन्छ ।

सनवर्न

सूर्यको अल्ट्राभोइलेट किरणबाट सनवर्न मात्र होइन छालाको क्यान्सर हुने सम्भावना पनि हुन्छ । यसबाट छाला ट्युनिङ र पि्रमेच्योर छाला एजिङ्का साथै रोग प्रतिरोधक क्षमता पनि मन्द हुन्छ । जो धेरै समय घाममा बस्छ, जसको उमेर ५० भन्दा माथि छ उसमा छालाको क्यान्सरको सम्भावना बढी हुन्छ ।

कसरी जोगिने ?

– सनवर्न भएको ठाउँमा पेट्रोलियम जेली, मोइस्चराइजिङ क्रिम वा लोसन प्रयोग गर्नुपर्छ ।

– दसदेखि चार बजेसम्म भरसक घाममा निस्कनु हुँदैन ।

– युवी सनग्लास, ह्याट, छाता बोकी फुल स्लिभका कपडा लगाएर मात्र घरबाहिर निस्कनुपर्छ ।

घरेलु उपाय

– सूर्यको अल्ट्राभोइलेट किरणले हुने सनवर्नबाट जोगिन एलोबेराको पल्प, आलुको रस तथा ओटमिलको प्याक लगाउन सकिन्छ ।

– टी ब्यागलाई पानीमा डुबाएर राख्नुपर्छ र उक्त पानीमा कपडा भिजाएर सनवर्नबाट प्रभावित ठाउँमा राख्नुपर्छ ।

– नरिवलको तेल लगाउँदा वा चिसो दूधमा कपडा भिजाई प्रभावित ठाउँमा राख्दा फाइदा हुन्छ ।

डिहाइड्रेसन

गर्मीमा धेरै पसिना आउनाले वा शारीरिक क्रियाकलाप बढ्नाले डिहाइड्रेसनको समस्या हुन्छ । टाउको दुख्नु, थकान महसुस हुनु, घाँटी वा ओठ सुक्नु, पिसाबको रंग परिवर्तन हुनु, हातखुट्टा दुख्नु, रिंगटा लाग्नु आदि यसका लक्षण हुन् । कतिपय अवस्थामा डिहाइड्रेसनका कारण हिट स्ट्रोकको पनि सम्भावना बढ्छ ।

कसरी जोगिने ?

– तिर्खा लागेपछि कुर्नु हुँदैन । कामको बीच-बीचमा पानी पिइरहनुपर्छ । शारीरिक काम गर्दा हरेक बीस मिनेटमा पानी पिउनुपर्छ ।

– दिनभरिमा ४-५ गिलास कागती पानी पिउनुपर्छ ।

– घरबाट बाहिर निस्कदा साथमा पानीको बोतल राख्नु उचित हुन्छ ।

– बालबालिकालाई समय-समयमा पानी वा प|mुट जुस दिनुपर्छ ।

– चिया-कफी तथा सोडाबाट टाढै रहनुपर्छ ।

घरेलु उपाय

– एक कप छाछमा एक चिया चम्चा सुठो पाउडर मिसाएर दिनमा ३-४ पटक सेवन गर्नु लाभदायक हुन्छ ।

– दिनमा ४-५ पटक कागती पानी तथा नरिवल पानी पिउनुपर्छ ।

– शरीरमा पोटासियमको कमी पूरा गर्न केरा लाभदायक हुन्छ । त्यसबाहेक पानीकोे मात्रा धेरै भएका खरबुजा, तरबुजा, स्ट्रबेरी, काँक्रा आदि खानुपर्छ ।

– डिहाइड्रेसन कम गर्न स्याउ एवं सुन्तलाको जुस पिउन सकिन्छ ।

घमौरा

पटक-पटक पसिना आउनाले शरीरका रोमछिद्र बन्द हुन्छन् जसबाट छालामा दानाहरू देखा पर्छन् यसलाई घमौरा भनिन्छ । गर्मीमा धेरैजसोमा यो समस्या देखिन्छ ।

कसरी जोगिने ?

– घाममा धेरै समय नबस्ने । बाहिर काम गर्दा भरसक छहारीमा बस्ने ।

– शरीरलाई भरसक भिज्न नदिने ।

– कटन वा लिनेनको लुज फिटिङ कपडाले पसिना सोस्न सक्छ ।

घरेलु उपाय

– ५ टेबुल स्पुन मुलतानी माटोमा तीन टेबुल चम्चा गुलाबजल र थोरै पानी मिसाएर पेस्ट बनाउने र त्यसलाई घमौरा आएको ठाउँमा प्रयोग गर्ने अनि सुकेपछि पानीले पखाल्ने । यसबाट घमौरा चाँडै निको हुन्छ ।

– निमको पात पिसेर त्यसको लेप प्रयोग गर्नुपर्छ ।

– पानीमा तीन टेबुल चम्चा बेकिङ सोडा मिसाएर नुहाउँदा फाइदा हुन्छ ।

– बेसनको पेस्ट बनाएर घमौरामा प्रयोग गर्दा पनि लाभ हुन्छ ।

कंजंक्टिवाइटिस

गर्मीमा एलर्जी सिर्जना गर्ने तत्वका साथै संक्रामक तत्वको संख्या बढ्छ । जसका कारण आँखामा कंजंक्टिबाइटिस हुन्छ । आँखा रातो हुनु, आँखा सुन्निनु, आँखा चिलाउनु तथा चिपचिपे हुनु यसका लक्षण हुन् ।

कसरी जोगिने ?

– चर्को घामबाट जोगिनुपर्छ । घाममा निस्कनै परे सनग्लास लगाउने ।

– एन्टिसेप्टिक साबुनले हात धुने ।

– दैनिक पूर्णनिद्राका साथ स्वस्थ एवं स्वच्छ खाना खाने । निद्रा पूरा नभए रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, जसका कारण इन्फेक्सनसित लड्न सकिँदैन ।

घरेलु उपाय

– बालबालिकालाई यो समस्या भए आमाको दूधको २-३ थोपा उसको दुवै आँखामा प्रयोग गर्नु लाभदायक हुन्छ ।

– बाख्रा वा गाईको काँचो दूधको केही थोपा आँखामा प्रयोग गर्दा पनि यो इन्फेक्सन चाँडै निको हुन्छ ।

– काँचो आलुको स्लाइस आँखामाथि केही समय राख्दा पनि आँखा सुन्निएको बिसेक हुन्छ ।

नारी म्यागाजिनबाट 

प्रकाशित : बिहिबार, चैत ११, २०७२१०:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गर्मीमा कस्ताे मेकअप – जानी राखाैँ