अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ ? यी कुरामा ख्याल गर्नुहोस्

जागिर सरकारी होस् वा प्राइभेट, आजकल अधिकांश स्थानमा लिखित परीक्षाका साथै अन्तर्वार्ता पनि हुन्छ । कतिपय व्यक्ति लिखितमा सफल भए पनि अन्तर्वार्तामा राम्रो गर्न नसक्दा जागिरबाट वञ्चित हुन्छन् । अन्तर्वार्तामा सफल हुन यस्ता विषयमा ध्यान पुर्‍याऔँ :
जागिर उपयुक्त छरछैन जान्नुहोस्
अन्तर्वार्ता दिन जान लागेको जागिर आफ्नो अनुकूल भएरनभएको पहिल्यै सोच्नुहोस् । आफूले गर्नुपर्ने काम, कर्तव्य र अधिकारका बारेमा जान्नुहोस् । त्यसका लागि आफू उपयुक्त छु वा छैन, आत्ममूल्यांकन गर्नुहोस् । कम्पनीले के र कस्तो व्यक्ति चाहेको छ, जानकारी राख्नुहोस् ।

जागिर दिने संस्थाबारे जान्नुहोस्
आफूले जागिर खान खोजेको संस्था वा निकायबारे प्रशस्त जानकारी राख्नुहोस् । संस्थाका बारेमा आधिकारिक व्यक्ति वा कुनै माध्यमबाट त्यस्तो सूचना लिन सकिन्छ । आजकल प्रायस् सबै संस्थाका वेबसाइट वा आधिकारिक प्रकाशन सामग्री पनि हुन्छन् । त्यस्ता सामग्री पढेर जानकारी प्राप्त गर्नुहोस् । यसले अन्तर्वार्तामा उत्तर दिन सजिलो बनाउँछ । यही उत्तरका आधारमा तपाईं उपयुक्त व्यक्ति हो वा होइन भन्ने निर्णय लिन कम्पनीलाई सजिलो हुन्छ ।

बोल्ने प्राक्टिस गर्नुहोस्
तपाईं विषयवस्तुमा जति दक्ष हुनुहुन्छ, बोल्न त्यति सक्नुहुन्न भने प्राक्टिस गर्नुहोस् । परिवारको सदस्य वा आफूसँग एकदमै मिल्ने साथीलाई सँगै राखेर सम्भावित प्रश्न तयार गरी उत्तर दिने प्राक्टिस गर्नुहोस् ।

पोसाकमा ख्याल गर्नुहोस्
अन्तर्वार्तामा पोसाकले पनि ठूलो प्रभाव पार्दछ । अन्तर्वार्तामा जाँदा औपचारिक पोसाक लगाउँदा राम्रो मानिन्छ । पोसाकले व्यक्तित्व झल्काउने भएकाले सजिलोका लागि भन्दा सफलताका लागि पोसाक छनोट गर्नुहोस् । पोसाकले निर्णयमा समेत प्रभाव पार्नसक्छ ।

स्थान र समयको ख्याल गर्नुहोस्
अन्तर्वार्ताका लागि तोकिएको स्थानमा समयमै पुग्नुहोस् । स्थानको विषयमा समस्या छ भने पहिल्यै बाटो पत्ता लगाउनुहोस् । यसले सो दिनमा समयमै पुग्न सजिलो हुन्छ । कार्यालयमा भेट्ने व्यक्तिका बारेमा पनि जान्दा राम्रो हुन्छ ।

ख्याल गर्नुपर्ने सामग्री
अन्तर्वार्तामा जाँदा आफूसँग हुने सामग्रीको पनि ख्याल गर्नुपर्छ । आजकल प्रायस् सबैको साथमा मोबाइल हुन्छ । अन्तर्वार्ता दिइरहेको समयमा मोबाइलको घन्टी बजेमा त्यसले एकाग्रता तोडिन्छ । यसले अन्तर्वार्ता लिने व्यक्तिका नजरमा नराम्रो हुन्छ । अन्तर्वार्ता दिँदा मोबाइल साइलेन्स मुडमा राख्ने वा स्विचअफ गर्दा राम्रो हुन्छ । त्यसैगरी, आफूसँग भएका अनुभवका प्रमाणपत्र, सर्टिफिकेट, बायोडाटा साथमा बोकेर जानु राम्रो हुन्छ ।

हाउभाउ मिलाउनुहोस्
शरीरको हाउभाउले धेरै कुरालाई प्रभाव पार्नसक्छ । त्यसैले अन्तर्वार्ता लिने व्यक्तिसँग नडराउनुहोस् । आत्मविश्वासका साथ ‘आइ कन्ट्याक्ट’ मा रहेर जवाफ दिनुपर्छ । आवाज चर्को वा एकदमै सानो छ भने मध्यम आवाजमा उत्तर दिनुपर्छ । अन्तर्वार्तालाई सकारात्मक दिशातर्फ लैजानुहोस् ।

प्रकाशित : शुक्रबार, फागुन २१, २०७२०८:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गर्मी मौसममा यस्ता स्वास्थ्य समस्या अाउन सक्छन् – जानी राखाैँ