किसोरी छोरीकी आमालाई मनोविज्ञका ७ शुझाव, छोरी बिग्रिनबाट कसरी जोगाउने ?

टिनेजर अर्थात् किशोरावस्थालाई संवेदनशील उमेरको समूह मानिन्छ । यो उमेरमा सिकेका र सिकाइएका पाठकै आधारमा उनीहरूको भविष्य तय हुने मनोविज्ञहरू बताउाछन् । किशोरावस्थामा छोराभन्दा छोरीहरू बढी गोप्यता चाहिरहेका हुन्छन् । यो उमेरमा गलत बाटो रोज्न सक्ने सम्भावना पनि छोरीकै बढी हुन्छ । लैंगिक समानताका कारण पनि छोरीलाई सही बाटोमा हिाडाउन र गलत पहिचान गराउन आमाको विशेष भूमिका रहन्छ । त्रिभुवन विश्वविद्यालय मनोविज्ञान केन्द्रीय विभागका उप–प्राध्यापक खेमराज भट्टले टिनेजर छोरीकी आमालाई केही टिप्स दिएका छन्

१. टिनेजरहरू हरेक विषयमा स्वतन्त्रता चाहन्छन् । अधिकांश अभिभावकले यस्तो मन पराउँदैनन् । छोराछोरीसामु बढी नै आक्रमक रूपमा प्रस्तुत हुन्छन् । अभिभावक आक्रमक भएपछि उनीहरू झनै रुष्ट बन्न सक्छन् । यो उमेरमा आमाले छोरीसँग साथीजस्तो भूमिका खेल्नुपर्छ । अर्ती–उपदेशले मात्र उनीहरूलाई सम्झाउन सकिँदैन ।

२. परिवारलाई सम्मान नगर्ने स्वभाव टिनेजरहरूमा हुन्छ । छिटो–छिटो शारीरिक परिवर्तन पनि हुने भएकाले उनीहरू धेरै नै तनावमा हुन्छन् । नैराश्यता पनि आएको हुन्छ । आमाले छोरीको तनाव महसुस गर्दै सकेसम्म हप्तामा एकपटक आफ्नै समस्याबारे छोरीसँग सल्लाह गर्नुपर्छ । आफ्नो समस्या सुनाउँदा छोरीले पनि उनको समस्या सुनाउँछिन् । यसो गर्दा छोरीको तनाव पत्ता लगाउन सजिलो हुन्छ ।

३. टिनेजमा यौनलगायत विषयमा चासो पैदा हुनु स्वाभाविक नै हो । यस्ता चासोबारे स्पष्ट हुन नसक्दा गलत बाटो रोज्न सक्छन् । आमाले टिनेजमा हुने विभिन्न परिवर्तनका बारेमा छोरीसँग खुलेर छलफल गर्नुपर्छ । यौनलगायतका विषयमा आफू त्यो उमेरमा के सोच्थेँँ र कस्तो महसुस हुन्थ्यो भन्ने जानकारी दिँदै छोरीको भाषामा बुझाउनुपर्छ । छोरीमा केही नकारात्मक प्रभाव परेको छ भने आमाको सही जानकारीले सकारात्मक भूमिका खेल्न सक्छ । छोरीको ब्वाइफ्रेन्ड छ कि छैन भनेर बुझ्नु छ भने ‘मेरो त उतिखेर ब्वाइफ्रेन्ड थियो, यस्ता कुरा हुन्थे’ भनेर कुरा गर्न सकिन्छ ।

४. छोरीलाई ठूलो भएर पनि केही गर्न सकिनस् या बच्चै छस् तँलाई के थाहा छ र ? भन्नेजस्ता कमेन्ट गर्नुहुन्न । यसरी गाली गर्दा उनीहरूमा ‘आइडोलोजी क्राइसिस’को महसुस हुन्छ । नकारात्मक टिप्पणी पनि कहिल्यै गर्नुहँुदैन । केही भन्नुपरे पनि सकारात्मक कोणबाट भन्ने । जस्तै, ‘यो त तिमीले राम्रो गर्‍यौ, यहाँचाहिँ अलिकति पुगेन नि’ भन्दा सकारात्मक प्रभाव पर्छ । उनले गरेका स–साना कामको पनि प्रशंसा गरिदिँदा दूरी कम हुँदै जान्छ । म पनि केही हुँ भन्ने ‘फिल’ हुन दिनुपर्छ ।

५. छोरीको कतिपय अवस्था बुझ्न उनकी साथीसँग पनि आमाले राम्रो सम्बन्ध बढाउनुपर्ने हुन्छ । छोरीसँग सीधा सोध्दा झर्किनेरफर्किने गरिन् भने उनकी साथीको सहारा निकै काम लाग्छ । साथीमार्फत छोरीका सबै गतिविधि थाहा हुन्छ । उनको समस्या बुझेर सुल्झाउन पनि सहज हुन्छ । आफ्नो तर्फबाट सकेसम्म ‘फ्रिडम’ दिने तर, ‘वाच’ भने गरिरहने ।

६. टिनएजमा छोराले भन्दा छोरीले बढी गोप्यता खोज्छन् । यो उमेरमा उनीहरूको मोबाइल हेर्ने, म्यासेज पढिदिनेजस्ता काम गर्नुहुन्न । सीधा–सीधा उनीहरूको गोप्यता चुहाउन खोज्दा झनै नकारात्मक सोचाइ आउन सक्छ ।

७. छोरीले गरेको गल्तीमा आक्रमक बनेर गाली गर्न्तिर लाग्नुहुँदैन । सानातिना गल्तीमा ‘एक्स्क्युज’ दिनु नै बुद्धिमानी हुन्छ । यसो गर्दा उनीहरूमा नैतिक दबाब पर्छ । अरूको अगाडि गाली गर्दा त झन् नराम्रो असर पर्छ । अरूका छोरी या घरकै दिदी–बहिनीसँग दाँजेर कहिल्यै गाली नगर्नुहोला ।

खेमराज भट्ट
उपप्राध्यापक
त्रिवि मनोविज्ञान केन्द्रीय विभाग
नयाँ पत्रिका दैनिकबाट

प्रकाशित : बुधबार, माघ २७, २०७२०८:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साना स्तन हुनाका फाइदाहरु यस्ता छन्, जानी राखौँ