स्तनमा दूध आउनका लागि आमाको शरीरमा दुईवटा हर्मोनले विशेष भूमिका खेल्छन् । एउटा प्रोल्याक्टिङ हर्मोन र अर्को डेड जाउन रिफ्लेक्स वा अक्सिटोसिन रिफ्लेक्स भन्ने हर्मोन । प्रोल्याक्टिङ हर्मोनले दूध उत्पादन गर्छ । अर्को डेड जाउन रिफ्लेक्स वा अक्सिटोसिन रिफ्लेक्स भन्ने हर्मोनले स्तनमा जम्मा भएको दूधलाई निचोरेर बाहिर निकाल्न मद्दत गर्छ ।
यी दुवै हर्मोनले आमाको मस्तिष्कमा आउने सोच र बच्चाको क्रियाकलापका आधारमा सक्रिय हुने वा निष्क्रिय हुने काम गर्छ । बच्चाले आमाको दूध चुसेको अवस्थाबाहेक पनि कहिलेकाहीँ आमाको स्तनबाट आफँै दूध झरेको हुन्छ वा स्तन रसाउँछ । यस्तो हुनुको कारण पनि त्यही प्रोल्याक्टिङ र अक्सिटोसिन हर्मोनको कारण हो ।
जब आमाको मस्तिष्कले आफ्नो बच्चालाई दूध खुवाउनुपर्ने वेला भयो भनेर मस्तिष्कमा सोच बनाउँछिन्, उनको मस्तिष्कले प्रोल्याक्टिङ हर्मोनलाई सक्रिय गराइहाल्छ, दूध उत्पादन सुरु भइहाल्छ । यसरी जम्मा भएको दूधलाई बाहिर पठाउने काम अक्सिटोसिनले गर्छ ।
सम्झिँदा मात्रै होइन, बच्चा रोएको आवाजले पनि ती हर्मोनहरू सक्रिय हुन्छन् । बच्चालाई छोडेर टाढा भएका वेला बच्चा भोकायो कि भन्ने सोचेमा, आफूले खाजा वा खानेकुरा खाँदा आफूबाट टाढा भएको बच्चाको बारेमा सम्झेमा पनि स्तनबाट आफैँ दूध आउँछ ।
कतिपय आमाले अरू बच्चाले स्तनपान गरेको देखेमा पनि स्तन रसाउँछ । त्यस्तै बच्चाको कपडा, बच्चाको गन्धले पनि स्तन रसाउँछ ।
आमाको सोच बच्चाप्रति जति सकारात्मक हुन्छ, त्यति नै बढी दूध आउँछ । त्यस्तैगरी, जति बढी स्तनपान गरायो, उति बढी दूध आउँछ । नवजात शिशुका लागि पहिलो र दोस्रो दिन खासै धेरै दूध चाहिँदैन । तर, तेस्रो दिनदेखि धेरै मात्रामा दूध चाहिन्छ ।
सामान्यतया नवजात शिशुलाई दैनिक आठदेखि १० पटकसम्म स्तनपान गराउनुपर्छ । नवाजात शिशुको तौलअनुसार दूध आवश्यक पर्छ । सामान्यत: जन्मिँदा तीन किलो तौल भएको शिशुलाई २४ घन्टामा १८० एमएल दूध आवश्यक पर्छ ।
नयाँ पत्रिकाबाट