एजेन्सी : दबंग त्यहीँ फिल्म हो जसले सलमान खानको गुमेको स्टारडम फिर्ता ल्याएको थियो। सुरुवात वान्टेडबाट भएको थियो, तर दबंगको सफलता आँखा तिर्मिर्याउने खालको थियो। त्यसपछि सलमानले कहिल्यै पछाडी फर्केर हेर्न परेन। चुलबुल पाण्डे नामक उनको भूमिका अत्यन्तै लोकप्रिय भयो र हेर्दाहेर्दै चुलबुल सबैको आँखाको तारा भए। सलमानले चुलबुलको भूमिका केही अलगै तरिकाले निभाए।
एक्सनसँगै केही हास्यरस पनि मिसाए। डायलग डेलिभरीमा बदलाव ल्याए। शर्टको पछाडीको कोलारमा चस्मा लगाउनु, पटक-पटक ‘छेद कर देंगे’ वाला संवाद बोल्नु, खासगरी ‘हुड हुड दबंग’ वाला डान्स स्टेप्स लगायतको सलमानको यस्तो अन्दाज दर्शकलाई असाध्यै मन पर्यो। सन् २०१० मा रिलिज भएको दबंग ब्लकबस्टर साबित भयो।
सलमान खानलाई लाग्यो चुलबुल पाण्डेलाई थप उचाईमा लैजान सकिन्छ। दुई वर्ष पछि नै दबंग २ नामबाट एक अर्को फिल्म बनाइयो। फिल्म त खासमा यो पनि सफल नै रह्यो तर पहिलेको तुलनामा यो फिल्मले दर्शकलाई मनोरञ्जन दिन सकेन्। त्यसपछि दबंग ३ बनाउन अलि समय लाग्यो। प्रभुदेवा जस्तो हिट फिल्म बनाउने निर्देशकलाई फिल्मको बागडोर सुम्पियो।
सन् २०१९ मा रज्जो र चुलबुल पाण्डेको दबंग ३ रिलिज भयो। यो फिल्म सिरिजको सबैभन्दा कमजोर साबित भयो। फिल्म यति खराब थियो कि सलमान खानका हार्डकोर फ्यान्स पनि हलमा गई यो फिल्म हेर्न अन्कनाउन् थाले। बक्सअफिसमा यो फिल्म पत्तासाफ भयो। त्यसपछि चर्चा चल्यो कि के अब दबंग सिरिज सकिएको हो त ? के अब दबंग ४ बन्दैन् त ?
सञ्चारमाध्यमहरुका अनुसार सलमान खानको चुलबुल पाण्डेसँग खास लगाव छ। यो क्यारेक्टरलाई मानिसहरुले असाध्यै मन पराउने सलमानको मान्यता छ। यदि राम्रो र सुहाउँदो कहानी बने दबंग ४ पनि अवश्यै बन्नेछ। दबंग ३ ले दर्शकको मनमस्तिष्कमा नराम्रो छाप छोडेको छ। यो हट्न केही समय लाग्नेछ। सलमान अब चुलबुललाई लिएर कुनै जोखिम उठाउन चाहदैनन्। यसकारण उनी केही समयदेखि ‘पर्ख र हेर’ को अवस्थामा छन्।