काठमाडौँ : कुण्डलीको माध्यमबाट ग्रहको चाल र राजयोग बारे सजिलै पत्ता लगाउन सकिन्छ। यद्यपि एकदमै कम मानिसलाई मात्र थाहा छ कि शरीरको बनावटको आधारमा पनि राजयोग बारे पत्ता लगाउन सकिन्छ। शारीरिक बनावटको आधारमा भविष्य जान्ने यस विद्यालाई सामुद्रिक शास्त्र भनिन्छ। सामुद्रिक शास्त्र अनुसार शरीरको बनावटको आधारमा कुन व्यक्ति धनवान बन्छन्, त्यसबारे थाहा पाउन सकिन्छ।
सामुद्रिक शास्त्र अनुसार जुन मानिसको छाती चौडा, नाक लामो र नाभि गहिरो हुन्छ, तिनीहरुले कम उमेरमै धेरै सफलता हासिल गर्छन्। यस्ता मानिसले आफ्ना सारा सपना सजिलै पूरा गर्छन्। यिनीहरुसँग कहिल्यै धनको कमी हुँदैन। र यिनीहरुले प्राय: जग्गाजमिनमा लगानी गर्छन्।
जुन मानिसको खुट्टाको पैतालामा अंकुश, कुण्डल या चक्रको निशान हुन्छ ती एक कुशल शासक, ठुला व्यापारी, अधिकारी या राजनेता बन्छन्।
जुन महिलाको बायाँ हातको बीचमा तिल, ध्वजा, माछा, वीणा, चक्र या कमल जस्तो आकृति हुन्छ तिनीहरु लक्ष्मी समान हुन्छन्। ग्रन्थ अनुसार यस्ता महिला जहाँ पनि जान्छन् त्यहाँ धन र खुशीको वहार ल्याउँछिन्। त्यस्तै जुन पुरुषको हात या गोडामा माछा, अङ्कुश या वीणाको निशान हुन्छ, तीनले कम समयमै पैसा र प्रतिष्ठा कमाउँछन्।
हत्केलाको बीचमा कोठी हुने मानिस धेरै धनवान र समाजमा प्रतिष्ठित हुन्छन्। साथै जसको गोडाको पैतालामा तिल, चन्द्रमा या वाहन जस्तो निशान हुन्छ, तिनले धेरै सुख पाउँछन्। यस्ता मानिसले थुप्रै देशको भ्रमण गर्ने अवसर पाउँछन्।
जुन महिला या पुरुषको गोडामा कमल, वाण, रथ या सिंहासन जस्ता निशान हुन्छ, तिनले आजीवन भूमि-भवनका सुखसुविधा पाउँछन्।
जुन पुरुषको छातीमा धेरै रौँ हुन्छ, तिनीहरु सन्तोषी स्वभावका हुन्छन्। यिनीहरुसँग धेरै धन त हुँदैन तैपनि धनको अभावमा कहिले पनि कुनै काम रोकिदैन।
जुन मानिसको हातमा ६ औँला हुन्छन्, यिनीहरु निकै भाग्यमानी हुन्छन्। यिनीहरु ईमान्दार र मेहनति पनि हुन्छन्। साथै जसको निधारको दाहिने पट्टि र दायाँ गालामा कोठी हुन्छन्, तिनीहरुका आर्थिक स्थिति निकै मजबूत हुन्छ।
बुढी औँलामा जौ जस्तो चिन्ह छ भने ती व्यक्ति धनवान हुन्छन्। हातका औँलाहरु लामा-लामा छन् भने ती व्यक्ति भाग्यशाली र दिर्घायु हुन्छन्। धनी व्यक्तिका हातका रेखा स्पष्ट र गहिरा हुन्छन् जबकि गरिब व्यक्तिका हातका रेखा फिक्का हुन्छन्।
जसको हातमा मकर, ध्वज, कोष्ठ र मन्दिरको चिन्ह जस्तो विशेष रेखा हुन्छ, यस्ता व्यक्ति महाधनी हुन्छन्। हातमा चक्र, तरबार, बन्चरो, शक्ति, धनुस र भाले जस्तो देख्ने रेखा छ भने ती जातक सेना या प्रहरीको उच्च पदमा पुग्नेछन्।
हातमा बावली(सिँढीसँग जोडिएको कुवा), देवमन्दिर अथवा त्रिकोणको चिह्न हुने मानिस स्वभावले धर्मात्मा हुन्छन्। बुढी औँलामा हुने मोटो रेखाले पुत्रलाई जनाउँछ भने सूक्ष्म रेखालाई कन्या मानिन्छ। ख्याल गर्नुपर्ने कुरा यो छ कि राजयोग बनाउने सबै शुभ निशान स्त्रीको बायाँपट्टि र पुरुषको दायाँपट्टि हुन्छन्।