काठमाडौँ : व्रतमा सर्वाधिक महत्वपूर्ण व्रत एकादशीको हुन्छ । एकादशीको नियमित व्रत राख्दा मनको चञ्चलता समाप्त हुन्छ र धन-आरोग्य प्राप्त हुन्छ । एकादशी व्रतको प्रभावले मनोरोग पनि दूर हुन्छ । पापमोचनी एकादशी आरोग्य, सन्तान प्राप्ति तथा प्रायश्चितको लागि बसिने व्रत हो । यो व्रत चैत्र कृष्ण पक्षको एकादशीमा पर्छ । पापमोचनी एकादशीको व्रत आज चैत्र २५ गते परेको छ ।
यो व्रत दुई तरिकाले बस्न सकिन्छ – निर्जल र फलाहारी या जलीय व्रत । सामान्यत: निर्जल व्रत पूर्ण रुपमा स्वस्थ व्यक्तिले मात्र बस्नुपर्छ । अन्य या सामान्य मानिसहरुले फलाहारी या जलीय उपवास राख्न सक्छन् ।
यो व्रतको अघिल्लो दिन हिजो दशमीमा केवल एक पटक सात्विक आहार ग्रहण गर्नुपर्छ । एकादशीको प्रातः कालमा श्रीहरिको पूजा गर्नुपर्छ । यदि राति जाग्राम बसी श्रीहरिको उपासना गरे हरेक पापको प्रायश्चित हुनेछ । यो एकादशीको दिन केवल जल र फल सेवन गरे राम्रो हुनेछ ।
प्रातःकालमा स्नान गरी श्री हरिको उपासना गर्नुहोला । यो एकादशीको दिन विष्णु सहस्त्रनाम या श्रीमदभागवदको पाठ गर्नुहोला । सन्ध्याकालमा पीपलको वृक्षमा तोरी तेल हाली दियो बाल्नुहोला । आफ्नो इष्टदेव या देवीको प्रार्थना गर्नुहोला। गरिबी तथा दीनदुखीलाई अन्न र वस्त्र दान गर्नुहोला ।