ढोकामा आइसकेको प्रधानमन्त्री पदलाई किन झ्यालबाट चिहाइरहेका छन् त देउवा ?

काठमाडौँ : पार्टीबाट प्रधानमन्त्री बन्ने सर्वसम्मत वातावरण बन्दा पनि कांग्रेस सभापति शेरबहादुर देउवा सरकार बनाउने खेलमा लागिसकेका छैनन् । ‘सरकार बनाउन र गिराउन’ संसद्को गणितलाई आफूअनुकूल पार्न पोख्त नेताको छवि बनाएका देउवा यसपटक नहतारिनुमा अनेक अड्कलबाजी हुन थालेको छ । यो खबर कान्तिपुरमा प्रकाशित छ।

अहिलेको राजनीतिक परिदृश्यमा प्रधानमन्त्री बन्ने सम्भावना भएका नेतामा देउवा नै अग्रपंक्तिमा छन् । माओवादी केन्द्रका साथै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष बाबुराम भट्टराई समूहले धेरै अघिदेखि नै देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरिसकेका हुन् । जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट देखिएका छन् ।

देउवाले ढोकामा आइसकेको प्रधानमन्त्री पदलाई किन झ्यालबाट चिहाइरहेका छन् त ? यी सबै परिदृश्यका पछि देउवाको चाहना मुलुकलाई मध्यावधि निर्वाचनतिरै धकेल्न सकिन्छ कि भन्नेमा केन्द्रित रहेको उनीनिकट नेताहरू बताउँछन् ।

‘सभापतिजीमा कम्युनिस्टहरू फुटेकै बेला निर्वाचनमा गए पार्टीलाई फाइदा हुन्छ भन्ने सोचाइ होला । केही बाह्य कारण पनि होलान् । सरकार बनाउने र ढाल्ने सवालमा दक्षिण भारत र उत्तरी छिमेकको चासो पनि प्रतिबिम्बित होला,’ कांग्रेसका एक नेताले भने, ‘सरकार बन्न नदिने र मुलुकलाई फेरि निर्वाचनतिरै धकेल्न खोजिएको हामीलाई पनि आभास भएको छ ।’

प्रकाशित : सोमबार, चैत ०२, २०७७०८:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

निफ्राले अन्तरराष्ट्रिय बजारमा ३० मिलियन डलरको ऋणपत्र निष्कासन गर्ने