निफ्राले अन्तरराष्ट्रिय बजारमा ३० मिलियन डलरको ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । नेपाली पूँजीबजारमा हालै साधारण शेयर (आईपीओ) विक्री गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले अब अन्तरराष्ट्रिय बजारमा डलरमा ऋणपत्र (बन्ड) निष्कासन गर्ने भएको छ । लगानीका लागि पूँजी जुटाउन बैंकले अन्तरराष्ट्रिय बजारमा २५ मिलियनदेखि ३० मिलियन डलरको ऋणपत्र निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

यसका लागि नेपाल राष्ट्र बैंकले पनि आवश्यक प्रक्रिया अगाडि बढाउन निफ्रालाई सैद्धान्तिक स्वीकृति दिइसकेको छ । सैद्धान्तिक स्वीकृति पाएसँगै बैंकले अन्तरराष्ट्रिय बजारमा बन्ड निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको हो । यो खबर आर्थिक अभियान राष्ट्रिय दैनिकमा प्रकाशित छ।

सम्भवतः चालू आर्थिक वर्षभित्रै उक्त ऋणपत्र निष्कासन हुने बताइएको छ । ऋणपत्रबाट प्राप्त रकम नेपालका ठूला विकास पूर्वाधारमा लगानी गरिने बैंकको योजना छ ।

निफ्राले गत माघमा नेपाली पूँजी बजारमा हालसम्मकै ठूलो अर्थात् ८ अर्ब रुपैयाँ बराबरको आईपीओ विक्री गरेको थियो । उक्त आईपीओ अहिले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएर दोस्रो बजारमा कारोबारमा आइसकेको छ । अहिले भने निफ्राले अन्तरराष्ट्रिय बजारमा ऋणपत्र निष्कासन गर्न लागेको हो ।

निफ्राको उक्त ऋणपत्रलाई लन्डनको ‘ग्यारेन्टको’ नामक कम्पनीले क्रेडिट र्‍यापिङ पनि गरिसकेको छ । निफ्राको अन्तरराष्ट्रिय रेटिङ नभएको हुनाले उक्त कम्पनीलाई यस्तो जिम्मा दिइएको हो । ग्यारेन्टको अन्तरराष्ट्रिय स्तरको ‘ट्रिपल ए’ रेटेड कम्पनी हो ।

प्रकाशित : सोमबार, चैत ०२, २०७७०९:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

छाँगाबाट खसेजस्तै भईन् मीना, आफू बेल्जियममा हुँदा नक्कली पुर्जा बनाएर दलालले कुम्ल्यायो जग्गा