बलिउड अभिनेता मिथुन चक्रवर्ती औपचारिक रुपमा भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् । कोलकत्तामा आइतबार आयोजित र्यालीमा सहभागी हुँदै मिथुनले आफू औपचारिक रुपमा भारतीय जनता पार्टीमा प्रवेश गरेको घोषणा गरेका हुन् । चर्चा गरौँ उनको रोमाञ्चक फिल्मी जीवन र सङ्घर्षपूर्ण जीवनबारे।
मिथुन चक्रवर्तीको बलिउडमा चिरपरिचित नाम छ । ‘डिस्को डान्सर’ छुट्टै शैलीको फिल्मबाट वर्चश्व कायम गरेका थिए । तर, एउटा समय यस्तो पनि थियो, जतिबेला मिथुनले भोकभोकै बस्नुपर्ने अवस्था थियो र रेल्वे स्टेसनमा खुला आकाशमुनि सुत्नुपथ्र्याे ।
अहिले उनी सोनी टिभीको कार्यक्रम ‘द ड्रामा कम्पनी’ मा देखिन्छन्, जहाँ उनको साथमा सानो पर्दाका कैयौँ ठूला कमेडियन पनि छन् । कमेडियनहरूको प्रस्तुतिमा टेलिभिजनको पर्दामा हाँस्दै गरेका देखिने मिथुनको संघर्ष कम रोदनले भरिएको छैन ।
पहिलो फिल्म खेलिसक्दा पनि भोकै–प्यासै
सन् १९७६ मा मिथुनको पहिलो फिल्म ‘मृग्या’ आएको थियो । आदिवासीको विषयमा बनेको फिल्म बक्स अफिसमा असफल भए पनि यसले बेस्ट फिल्म र बेस्ट डाइरेक्सनको अवार्ड पाएको थियो ।
फिल्मबाट मिथुनले पनि राष्ट्रिय पुरस्कार पाएका थिए । फिल्म प्रदर्शनअघि निर्माता राजेश्वर राव र निर्देशक मृणाल सेनले प्रचारक आरआर पाठकलाई भेटेर फिल्मको प्रमोसनको जिम्मा लिइदिन प्रस्ताव गरे ।
निकै कम बजेटको फिल्मको प्रमोसन गर्न पाठक तयार भए । त्यसपछि मुम्बईको ब्लेज थिएटरमा पत्रकारहरूका लागि फिल्मको विशेष प्रदर्शन गरियो ।
प्रदर्शनपछि मिथुनले पाठकसँग भेटेर भने, ‘म निकै खराब हालतमा संघर्ष गरिरहेको छु । कृपया मलाई सहयोग गर्नुस् । मलाई खानबस्न समस्या छ । कहिलेकाहीँ गौतम गुहाको घरमा बसे पनि बाँकी रात रेल्वे स्टेसनमा बस्दै आएको छु ।’
मिथुनको अभिनयबाट प्रभावित भएका पाठकले सहयोग गर्ने वाचा गर्दै मिथुनलाई बिएन शर्मासँग भेट गराए । जसले मिथुनलाई आफ्नो नयाँ फिल्मका लागि साइन गराए ।
शर्माले मिथुनलाई साइनिङ अमाउन्ट नदिए पनि पाँच हजार रुपैयाँको बन्ड दिए । मिथुनले भने, ‘बन्ड मैले के गर्नु ? बरु मलाई केही रुपैयाँ दिनुस् । दुई दिनदेखि भोकै छु ।’ तर, केही कारणवश त्यो फिल्म बन्न सकेन ।
पाठकको साथले फाइदा
बिएन शर्माको फिल्म नबनेर आम्दानीको बाटो गुमे पनि मिथुनलाई फिल्म प्रवद्र्धक आरआर पाठकको साथले भने काम गर्यो । उनलाई पाठकले फिल्मको सेटमा लैजान्थे र निर्देशकहरूसँग भेट गराइदिन्थे ।
त्यस क्रममा उनको खानपिनको बन्दोबस्त पनि हुन्थ्यो । यसै क्रममा श्री साउन्ड स्टुडियो पुग्दा फिल्म निर्माता रामराज नाहटाले पाठकको आग्रहमा मिथुनलाई दुई फिल्ममा काम दिए ।
जसमध्ये एक फिल्म चाँडै रिलिज भयो भने अर्को फिल्मको सुटिङ हुँदाहुँदै मिथुनले सात÷आठ फिल्मका लागि प्रस्ताव आयो । यस बीचमा मिथुनले कैयौँ फिल्म खेले । तर, १९८२ मा आएको फिल्म ‘डिस्को डान्सर’ बाट उनले ख्याति कमाए । बलिउडमा उनको नृत्यको शैली ब्रान्ड नै बन्यो ।
आफ्नो मिहिनेतको बलमा सफलता
बलिउडमा ५० वर्षभन्दा बढी बिताएका आरआर पाठक भावुक हुँदै भन्छन्, ‘मिथुनले जसरी संघर्ष गरे, यस्तो कमै मान्छेले गर्न सक्छन् । उनी कसैको सहारामा नभई आफ्नो मिहिनेत र प्रतिभाको बलमा स्टार बनेका हुन् ।
मिथुनले आफ्नो यात्रामा मलाई कहिल्यै भुलेनन्, यसलाई म मिथुनको बडप्पन मान्छु ।’ अहिले पनि कतै भेट हुँदा मिथुनले निकै सम्मानपूर्वक ‘पाठक दादा’ भनेर अभिवादन गर्ने गरेकोमा उनी खुसी मान्छन् । (सौर्य राष्ट्रिय दैनिक पत्रिकाबाट साभार)