काठमाडौँ । नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति हुँदैन । आमाको दूधबाट यो शक्ति शिशुलाई प्राप्त हुन्छ । आमाको दूधमा लेक्टोफोर्मिन नामक तत्व हुन्छ, जसले बच्चाको शरीरमा फलाम तत्व दिन्छ । फलाम तत्वको अभावमा शिशुको शरीरमा कीटाणु प्रवेश गर्न पाउँदैन । आमाको दूधदेखि आएका साधारण जीवाणुले बच्चाको शरीरमा उब्जने रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्दछ । नयाँ पत्रिकाले छापेको छ ।
आमाको दूधमा रोगाणुनाशक तत्व हुन्छन् । वातावरणदेखि आमाको शरीरमा पुगेको रोगाणु शरीरमा स्थित विशेष भागको सम्पर्कमा आउँछन् । तिनले रोगाणु–विशेषको विरुद्ध प्रतिरोधात्मक तत्व बनाउँछन् । डा. अरुणकुमार सिंह बालरोग विशेषज्ञ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान आमाले शिशुलाई स्तनपान गराउँदा आत्मीयता, भावनात्मक सुखानुभूति, गौरव, मानसिक रूपमा स्वस्थ एवं आत्मसन्तुष्टि प्राप्त हुन्छ ।
स्तनपानबाट जीवनका पछिल्ला चरणहरूमा रक्तक्यान्सर, मधुमेह र उच्च रक्तचापको खतरा कम हुन्छ । स्तनपानले शिशुको बौद्धिक क्षमता पनि वृद्धि हुन्छ । आमाको दूधमा धेरै प्रकारको प्राकृतिक रसायन पनि हुन्छन् । बच्चालाई स्वस्थ र तन्दुरुस्त पार्ने सबभन्दा उत्तम आहार आमाको दूध हो । स्तनपानले सुत्केरी भइसकेपछि रगत जाने प्रक्रियालाई रोक्छ । स्तनपानले बच्चालाई मधुमेह, क्यान्सर, पखाला र निमोनियाजस्ता रोगको संक्रमणबाट बचाउँछ । दूधबाट आमाको रोगप्रतिरोधात्मक शक्ति बच्चामा सर्छ । स्तनपानले आमालाई क्यान्सर र हड्डी कमजोर हुने रोगबाट जोगाउँछ ।
आमाको दूध जहिले पनि बच्चाका लागि सफा, तयार र सही तापक्रममा रहेको हुन्छ । स्तनपानले आमा र बच्चा दुवैलाई आत्मीय र सुरक्षित भएको अनुभूति दिन्छ । कतिपय महिलालाई स्तनपानले चाँडै गर्भवती हुनबाट बचाउँछ । स्तनपान गराउन खर्च लाग्दैन । आमाले बच्चा जन्मनेबित्तिकै दूध खुवाउनुपर्छ । त्यसले पाठेघरको मुख खुम्चन्छ र रक्तश्राव रोकेर सामान्य स्थितिमा ल्याउन मद्दत गर्छ । दूधचुसाइले दूधको प्रवाहलाई बढाउँछ ।
सुत्केरी भएपछि पहिलो दुई वा तीन दिनसम्म बिगौती दूध (कोलोस्ट्रम) आउँछ, जुन बच्चाका लागि अति पौष्टिक हुन्छ । कोलोस्ट्रममा नवजात शिशुलाई चाहिने सबै प्रकारका पौष्टिक तत्व रहेको हुन्छ । यसले बच्चालाई रोगहरूबाट बचाउँछ र शिशुको पेट पनि सफा गर्छ । नवजात शिशुलाई कुनै सिरानी वा हातले थाम्नुपर्छ । बाक्लो कपडामाथि बच्चालाई राख्नुपर्छ । स्तनपान गराउँदा समस्या पर्यो भने अन्य अनुभवी महिलाको सहयोग लिनुहोस् । तिनले कतिपय स्वास्थ्यकर्मीले भन्दा राम्रो सल्लाह दिन सक्छिन् । जस्तै समस्या परे पनि दूधदानीको प्रयोग नगर्नुहोस् । यसले बच्चालाई अर्कै प्रकारको दूध चुस्ने बानी पार्छ ।
दुवै स्तन चुसाउनुपर्छ, तर एउटा स्तनमा दूध सकिएपछि मात्र अर्को स्तनबाट खुवाउनुपर्छ । बच्चाले चुस्न थालेको केही मिनेटपछि आउने दूधमा बढी चिल्लो हुन्छ । एकपटकमा एउटा स्तनको दूधले बच्चा अघाउँछ भने अर्कोपटक अर्कोपट्टिको स्तनपान गराउनुपर्छ । बच्चा भोकाएपछि (राति, दिउँसो जुनसुकै वेला) स्तनपान गराउनुपर्छ । नवजात शिशुले खास गरेर पहिलो एकदेखि तीन घन्टा बिराएर दूध खान खोज्छ । बच्चाले जति चुस्छ, उति नै दूध बढी बन्दै जान्छ ।