एजेन्सी, दक्षिण र उत्तर कोरियाको सीमाक्षेत्रलाई संसारकै सबैभन्दा असुरक्षित र संवेदनशील क्षेत्र मानिएको छ । खतरनाक मानिएको क्षेत्र भएता पनि यहाँ धेरै पर्यटकहरु पुगिरहेका हुन्छन् । यस डिमिलिटराइज्ड जोन अर्थात् सीमाक्षेत्रमा एकतल्ले नीलो भवन रहेको छ जहाँ दुई देशका अधिकारीहरू खास अवसरमा भेटघाट गर्ने गर्छन् । यहीँ भवनको आकर्षणले गर्दा धेरै पर्यटकहरु यस खतरनाक क्षत्रमा आउने गरेका छन् ।
दुई देश बीचमा रहेको तनावले गर्दा सीमाक्षेत्रमा रहेको पनमुंजोममा जतिखेर पनि गोली चल्न सक्ने भएकोले यहाँ घुम्न आउने पर्यटकहरुले आफ्नो ज्यानको जिम्मेवारी आफैले लिने छु भनि सहमतिपत्रमा हस्ताक्षर गर्नुपर्ने हुन्छ । पनमुंजोम भनेको सीमाक्षेत्रमा सउलभन्दा ५५ किलोमिटर उत्तरमा रहेको सानो गाउँ हो जसमा सन् १९५३ मा कोरियाली युद्ध अन्त्यको सम्झौता भएको थियो तर युद्ध अन्त्यको सहमति नभएपछि बिगत ६० वर्षदेखि आधिकारिक रुपमा युद्ध हुदै आएको छ ।
सिमाक्षेत्रमा काँडेतार, ट्यांकलाई रोक्ने स्टप लाइन ,ल्यान्डमाइनहरु लगाईएको छ । त्यसैले यस ठाउँलाई सर्वाधिक खतरा भएको क्षेत्रको रुपमा लिईएको छ । साथै दुवै देशका आर्मीहरु पनि तैनाथ अवस्थामा हुन्छन् । दक्षिण कोरियाको तर्फ बाट अमेरिकी सेना पनि रहेका छन् । कतिबेला युद्ध सुरुहुन्छ भन्न सकिन्न त्येसैले यो ठाउँमा पर्यटकलाई सावधान गरिएको हुन्छ र जान चाहनेलाई सुरक्षाका नियम सहित जान दिने गरिएको छ ।