काठमाडौँ – साउन महिना प्राकृतिक रुपमा पनि हरियो महिना हो । यस समयमा वन-जंगल खेतबारी सबैतिर हरियाली हुन्छ । वर्षा, प्रेम र झरीको संगम साउन महिना, महिलाहरुका लागि विशेष महिना हो । साउन महिनामा हरिया चुराको पहिरन र मेहेन्दी मात्र होईन विवाहित देखि अविवाहित महिलाहरुसम्म सोमवार व्रत बस्ने गर्दछन् ।
हरेक वर्ष आउने साउन महिना महिलाहरुका लागि विशेष हुने गर्दछ । वास्तवमा यो महिनामा हरियो रंग प्रयोगमा ल्याउँदा यसले भाग्यलाई प्रभावित पार्ने बताईन्छ ।
साउनमा किन लगाइन्छ त हरियो रंग ?
ज्योतिष प्रविण मिश्रका अनुसार हरियो रंग सौभाग्यको रंग हुने गर्दछ । यो महिना प्रकृतिलाई आफूसँग जोड्ने विशेष महिना हो । त्यसैगरी यो महिनामा हरियो रंग लगाएर शिवलाई जल अर्पित गर्छन र मानिसहरुले आफूलाई प्रकृतिसँग जोड्ने गर्दछन् जसको असर उनीहरुको भाग्यमा पनि पर्ने गर्दछ ।
सम्पन्नता: हरियो रंग बुध ग्रहको प्रतिक हो । बुध ग्रह करियर र व्यापारसँग जोडिने भएकोले यो महिनामा हरियो रंग लगाउँदा बुध ग्रह प्रशन्न हुने विश्वास गरिन्छ भने घरमा सम्पन्नता हुने बताइन्छ ।
शिव भगवान प्रसन्न हुने: यो महिनामा हरियो रंग लगाउँदा विशेष गरि शिव भगवान खुसी हुने धार्मिक विश्वास रहेको छ । भगवान शिवको प्रकृतिसँग विशेष झुकाव छ । साउन महिनामा हरियो रंगको चुरा लगाउने महिलामाथि विष्णु भगवान पनि प्रसन्न हुन्छन् ।
वैवाहिक जीवन सुखी: हरियो रंग प्रकृति, उर्वरता, सौभाग्य र सकारात्मक ऊर्जाको वृद्धिको प्रतिक हो । त्यसैले यो महिनामा हरियो रंग लगाउदा वैवाहिक जीवन सुखी हुने मान्यता रहेको छ। हरियो, उपचारको रंग पनि हुन्छ र यसले मुटुका साथै उच्च रक्तचापको समस्यामा पनि प्रभावकारी भूमिका खेल्ने मान्यता रहेको छ ।