मैले कसरी मानुँ यो संघीयता ?

binod-bhandari

– विनोद भण्डारी

मेरो घर वुटवल
मेरो पुर्खाको घर पाल्पा
मेरो मावल गुल्मी
वुवाको मावल अर्घाखाँची
तर
मेरो ससुराली भैरहवा
किनभने म पहाडी भएर पनि
मधेसीसँग बिहे गरेको छु
दसैँ ससुराली मधेसमा मनाउँछु
तिहार मान्न पहाड जान्छु
यज्ञ जात्रा हुँदा,
मेरो घरमा
गुल्मीबाट आउँछन् आफन्तीहरु
पाल्पाबाट झर्छन् इष्टमित्रहरु
र अर्घाखाचीबाट पाहुनाहरु
अथवा भनुँ
मेरो घरको आँगनमा
मधेस पनि हुन्छ, पहाड पनि हुन्छ
वुटवल, भैरहवा मधेस हुन्
पाल्पा, गुल्मी, अर्घाखाँची पहाड हुन्
तर म बाँधिएको छु
रुपन्देहीमा पनि, पाल्पामा पनि
गुल्मीमा पनि, अर्घाखाँचीमा पनि
अथवा भनुँ
म मिसिएको छु
तराइ र पहाड दुवैमा ।

मेरो पेशा व्यापार
म पाल्पाबाट सब्जी मगाउँछु
वुटवलमा बेच्छु
भैरहवाबाट कपडा मगाउँछु्
अर्घाखाँचीमा बेच्छु
गुल्मीबाट कफी मगाउँछु
भैरहवाको बजारमा बेच्छु
मधेसको चामल पहाड पुग्छ
पहाडको तरकारी तराई
तराइका व्यापारी पहाड चहार्छन्
पहाडका व्यापारी तराई
सम्बन्ध अगाध छ
साइनो अटुट छ
दरार आएको छैन
बस् दरार त अब ल्याउन खोजेजस्तो लाग्छ
सरकारबाट
हो सरकार
कसलाई सोधेर अलग गर्न लागेको यी जिल्ला ?

वुटवलवासीको तिर्खा मेटाउन
पाल्पाबाट तिनाउ झरेको छ
चिसो बतास लिएर त्यही नदी
भैरहवाको सुख्खा खेतहरु भिजाउँछ
र त उब्जन्छन् अन्नहरु
मधेसमा ।
अनि
भैरहवावासी मधेसी बन्धुहरु
आफ्नो उत्पादन लिएर
पुग्छन् पहाडी जिल्लाहरु
र त उपभोग गर्न पाउँछन्
पहाडीहरु ।
पुर्खाको सम्बन्ध छ
पानीको सम्बन्ध छ
उत्पादनको सम्बन्ध छ
व्यापारको सम्बन्ध छ
अथवा भनुँ
सम्बन्ध पत्र पत्रमा छ
यी जिल्लाहरुबिच ।
तर यही अक्षुण सम्बन्ध धमिल्याउन किन खोजेको ?
भन सरकार, कसलाई सोधेर
अलग गर्न लागेको यी जिल्ला ?

वुटवलका मान्छेहरु भाकल गर्छन्
र पुग्छन् सुपादेउराली
जुन अर्घाखाँचीमा छ
पाल्पालीहरु
सिद्धबाबा दर्शन गर्न
वुटवल झर्छन्
अनि
वुटवलवासीहरु
माघे सक्रान्तिमा स्नान गर्न
रिणीसम्म पुग्छन्
जुन गुल्मीमा छ
पहाडीहरु सबै घुम्न आउँछन् लुम्बिनी
जुन मधेसमा छ
तर
यति मिलेर बसेको भूगोल
यति धेरै स्नेहले बाँधिएको क्षेत्र
म बसेको थातवासको सिमाना कोर्ने
तिमी को हौ ?
हो सरकार तिमी को हौ ?
काठमाडौंमा बसेर मेरो जिल्ला चिर्ने
तिमी को हौ ?
म बसेको पुर्खौंदेखीको थातवास
मेरो स्वीकृतिबिना
मनलागी सिमाना कोर्न
तिमीलाई कस्ले आज्ञा दियो ?
न मेरा प्रतिनिधि खुसी छन्
न यहाँ बस्ने बासिन्दा
न त यो माग सुनिएको थियो
किन यस्तो प्रस्ताव ल्यायौ सरकार
हेर त आन्दोलन हुँदैछ
हजाराैँ सडकमा ओर्लिएका छन्
हेर त बन्द हुँदैछ
बन्द र आन्दोलन गर्नै हुँदैन
मलाई पनि स्वीकार छैन
तर सरकार
तिमीले काठमाडाबंवाट
मेरो जिल्लाहरु बिच सीमा कोर्ने
तिम्रो यो कदम कसरी स्वीकार गरुँ म ?
अनि सरकार
मलाई कुनै राजनीतिक पार्टीले उक्साएको होइन
किनभने मलाई राजनीतिसँग कुनै मतलब छैन
मेरो चाहना त बस्
नङ्गमासुको सम्बन्ध भएको
क्षेत्रलाई किन वित्थामा विभाजन गर्ने ?
मिलेर बसेको क्षेत्रलाई
विभाजित गर्दा
कसलाई राम्रो लाग्छ र सरकार ?
भन सरकार तिमीले भनेको संघीयता
यस्तै हो त ?
अल्पसंख्यकलाई अधिकार दिने
दुर्गम वस्तीहरुमा सुविधा पुर्याउने
सरकारी कामकाजलाई
सबै ठाउँमा सहज बनाउने
उद्देश्य होइन र संघीयताको ?
हो नी
त्यसमा त कसको विमती हुन्थ्यो र सरकार
वुझिदे सरकार
मेरा मधेसी वन्धुहरुको
उपेक्षित व्यथाहरु
सम्बोधन गरिदे
उनीहरुका जायज मागहरु
दुर्गम ठाउँमा बस्नेहरुको व्यथाहरु
गरिबी र विपन्नहरुका पनि उस्तै कथाहरु छन्
बुझिदे उनीहरुका पीडा पनि
तर
मिलेर बसेकालाई
तेरो क्षेत्र यता अनि तेरो उता
यो के गरेको सरकार ?
एउटाको समस्या बुझिदिने
नाउँमा
अक्षुण सम्बन्ध भएको क्षेत्रलाई
अलग किन गर्न लागेको सरकार ?
मैले बुझिन
मलाई बुझाउ
नभए मैले कसरी मानु तिम्रो यो सिमांकन ?
मैले कसरी मानु म जोडिएको भूमिको विभाजन ?
अनि सरकार,
यस्तै हो भने
मैले कसरी मानु तिम्रो संघीयता ?

प्रकाशित : शनिबार, मङि्सर १८, २०७३१७:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज स्वर सम्राट नारायण गोपालको २६ औँ स्मृति दिवस