अब ब्रोकर कम्पनीमा सेयर कारोबार खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा ग्राहकको पहिचान (केवाईसी) प्रक्रिया मजबुत बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको छ ।

उक्त निर्णयअनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सबै ब्रोकर कम्पनीहरूलाई नयाँ सेयर खाता खोल्दा अनिवार्य रूपमा ग्राहकको राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर लिन अनुरोध गरेको छ।

यसअघि नागरिकता प्रमाणपत्र तथा सोको नम्बरका आधारमा केवाईसी फारम भरिँदै आएकोमा अबदेखि राष्ट्रिय परिचयपत्रमा आधारित विवरण अनिवार्य रुपमा संकलन गर्नुपर्नेछ।

नेप्सेले सेयर कारोबारमा संलग्न पुराना लगानीकर्ताहरू, जसले पहिले नै खाता खोली कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) प्रयोग गरिरहेका छन्, तिनलाई पनि आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर अपडेट गर्न आग्रह गरेको छ।

यस्तै, बैंक तथा वित्तीय संस्थाहरूले समेत नयाँ खाता खोल्न आउने ग्राहकहरूलाई राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिसकेकाले, धितोपत्र बजारमा पनि सो व्यवस्था लागू गरिएको हो।

प्रकाशित : शुक्रबार, साउन १७, २०८२१८:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :