आइसीसी बरियतामा आफूभन्दा कमजोर युगान्डासँग दोश्रो पटक पराजित भयो युएई, सिरिज बिजेता बन्यो युगान्डा

युगान्डाले आफ्नो घरेलु मैदानमा सम्पन्न टि-२० अन्तर्राष्ट्रिय सिरिजमा शानदार प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको छ। आइतवार भएको निर्णायक खेलमा युगान्डाले युएईलाई ८ रनले पराजित गर्दै अपराजित रहँदै सिरिजको च्याम्पियन बन्यो।

छ टोली सहभागी यस प्रतियोगिता डबल राउन्ड रोबिन ढाँचामा खेलाइएको थियो, जहाँ युगान्डाले सबै ६ खेल जित्दै शीर्ष स्थानमा रहँदै उपाधि उचाल्यो। सिरिजको पहिलो खेलमा पनि युगान्डाले युएईलाई ६ रनले हराएको थियो।

फाइनल मानिएको आइतवारको खेलमा युगान्डाले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनायो। अल्पेश रामजानीले विस्फोटक ब्याटिङ गर्दै ३४ बलमा ८ चौका र १ छक्कासहित ६१ रन बनाए भने, राजिभ धवनले ४१ बलमा ३ चौका र २ छक्काको मद्दतले ५६ रन जोडे। ओपनर श्रीदिप मन्गेला १० रनमा पभेलियन फर्किए।

युएईका हैदर अली र आकिफ राजाले समान २ विकेट लिए भने मोहम्मद रोहिद र सागिर खानले १–१ विकेट झारे।

१७१ रनको चुनौती पछ्याएको युएई निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रनमै सीमित भयो। इथान डिसोजाले आक्रामक ब्याटिङ गर्दै १७ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ३२ रन बनाए। ओपनर मोहम्मद जुहिबले ३० रन जोडे भने कप्तान मोहम्मद वासिमले २५ रन र राहुल चोपराले २२ रनको योगदान दिए।

युगान्डाका बलरहरूले शानदार प्रदर्शन गरे। दिनेश नकर्नी र फ्रान्क नसुबुङ्गाले समान २ विकेट लिए भने अल्पेश रामजानी, म्याथ्यु मुसिङ्जी र कोसमस क्याईवाताले १–१ विकेट लिएर युएईको रन चेजमा ब्रेक लगाए।

यस शानदार जितसँगै युगान्डाले पहिलो पटक घरेलु भूमिमा कुनै बहुपक्षीय टि-२० अन्तर्राष्ट्रिय सिरिजमा सबै खेल जित्दै उपाधि जितेको हो। युगान्डा हाल आइसीसी टि-२० अन्तर्राष्ट्रिय र्याङ्किङमा २२औं स्थानमा छ भने पराजित युएई १३औं स्थानमा छ।

प्रकाशित : सोमबार, साउन १३, २०८२१०:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :