एजेन्सी – वेस्ट इण्डिजको हारको श्रृंखला अझै रोकिएको छैन। पाकिस्तानसँगको टि–२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार १४ रनको हार बेहोर्दै वेस्ट इण्डिजले लगातार नवौं पराजयको सामना गरेको हो।
फ्लोरिडामा सम्पन्न पहिलो खेलमा पाकिस्तानले तीन टि–२० खेलको श्रृंखला १–० को अग्रता लिएको छ।
यसअघिका खेलमा वेस्ट इण्डिज अष्ट्रेलियासँग ३ टेस्ट र ५ टि–२० म्याचमा हारेको थियो। पछिल्लो पटक गत जुनमा आयरल्यान्डलाई पराजित गरेपछि वेस्ट इण्डिजले एकपटक पनि जित हात पार्न सकेको छैन।
पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७८ रन बनाएको थियो।
जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इण्डिजले २० ओभरमा ७ विकेट गुमाउँदै १६४ रन मात्र बनाउन सक्यो।
वेस्ट इण्डिजतर्फ ओपनर जोनसन चार्ल्स र जिवल एन्ड्रुले समान ३५–३५ रन बनाए। जेसन होल्डरले १२ बलमा ४ छक्का प्रहार गर्दै अविजित ३० रन जोडे भने शमार जोसेफ २१ रनमा नटआउट रहे।
रोमारियो शेफर्डले १२ रन तथा शेरफान रदरफोर्डले ११ रन बनाए।
पाकिस्तानतर्फ मोहम्मद नवाजले सर्वाधिक ३ विकेट लिए भने सायम आयुबले २ विकेट लिए। शाहिन शाह अफ्रिदी र सफियान मुकिमले समान १–१ विकेट हात पारे।
पाकिस्तानका लागि ओपनर सायम आयुबले आक्रामक पारी खेल्दै ३८ बलमा ५ चौका र २ छक्का सहित ५७ रन बनाए।
फखर जमानले २४ बलमा २८ रन जोडे भने हसन नवाजले २४, फहिम असरफले १५ र सहिबजादा फरहानले १४ रन बनाए।
वेस्ट इण्डिजका बलर शमार जोसेफले ३ विकेट लिँदा जेसन होल्डर, अकिल होसेन र रोमारियो शेफर्डले समान १–१ विकेट लिए।
अब यी दुई टिमबीचको दोस्रो टि–२० म्याच आइतवार बिहान खेलिनेछ।