काठमाडौँ : हरेक महिनाको दुवै त्रयोदशी तिथिमा प्रदोष व्रत मनाइन्छ। अर्थात्, हरेक महिनामा २ वटा प्रदोष व्रत पर्दछन्, जसमा एक कृष्ण पक्षमा र अर्को शुक्ल पक्षमा पर्छ। यो दिन प्रदोष कालमा भगवान शिवको पूजा गर्ने विधान छ। श्रावन महिना भगवान शिवको प्रिय महिना हो, त्यसैले सावन महिनाका दुवै प्रदोष व्रतहरू विशेष मानिन्छन्। सन् २०२५ को श्रावन महिनाको पहिलो प्रदोष व्रत आज साउन ६ गते (२२ जुलाई) मंगलबारका दिन परेको छ। यो प्रदोष व्रत मंगलबार परेकोले यसलाई भौम प्रदोष व्रत पनि भनिन्छ।
प्रदोष काल सूर्यास्त हुनु ४५ मिनेटअघि सुरु भई, सूर्यास्तपछि ४५ मिनेटसम्म कायम रहन्छ। शास्त्रहरूमा उल्लेख अनुसार, त्रयोदशीको दिन भगवान् शिवले चन्द्रमाको क्षय अर्थात् प्रभाव घट्दै जाने रोगको उपचार गर्नुभएको थियो।
त्यसैले हरेक महिनाको त्रयोदशी तिथिमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रतको पालन गरिन्छ, जसले भक्तलाई स्वास्थ्य, शान्ति र शुभ फल प्रदान गर्ने विश्वास गरिन्छ।
प्रदोष व्रतमा द्विपुष्कर योग
आज श्रावन महिनाको पहिलो प्रदोष व्रतमा द्विपुष्कर योग बनिरहेको छ, जसलाई अत्यन्तै शुभ मानिन्छ। प्रदोष व्रतको पूजा आफ्नै बासस्थानको सूर्यास्त समयलाई आधार बनाएर प्रदोष कालमा सम्पन्न गर्नुपर्छ।
यस पूजाबाट महादेवले तपाईलाई धन–सम्पत्तिको आशीर्वाद दिनुहुनेछ। मनोकामनाहरू पूर्ण हुनेछन्। सन्तान सुख प्राप्त हुनेछ। साथै, आजको भौम प्रदोषमा भगवान शंकरसँगै उनका अवतार बजरंगबलीको पनि पूजा गर्नुहोस्। यसरी पूजा गर्दा तपाईलाई दुईगुणा कृपा प्राप्त हुनेछ। पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र विभिन्न फलफूल राखेर पूजा गरिन्छ।
प्रदोष व्रतको दिन नगर्नुहोस् यी काम
प्रदोष व्रतसँग सम्बन्धित धर्मशास्त्रहरूमा धेरै नियमहरू बताइएका छन्। ती नियमहरूको पालना गरेमा व्रतको पूर्ण फल प्राप्त हुन्छ, साथै समस्याहरू तथा संकटहरूबाट बच्न सकिन्छ। सावन प्रदोष व्रत विशेष महत्त्वपूर्ण हुन्छ, त्यसैले आजको दिन यी गल्तीहरू बिल्कुल नगर्नुहोस्।
१ . सावन प्रदोष व्रतको दिन तामसिक भोजनको सेवन कहिल्यै पनि नगर्नुहोस्। मासु र मदिराको सेवनले जीवनमा समस्याहरूको भारी बोझ थप्नेछ।
२ . जो व्यक्तिहरू व्रत बस्दैछन्, उनीहरुले नून नखानुहोस् वा खानै परेमा केवल कालो नून/बिरे नुन मात्र खानुपर्छ। साधारण नूनको सेवन नगर्नुहोस्, नत्र व्रत भङ्ग हुनेछ।
३ . साउन प्रदोषको पवित्र दिन कालो रङका कपडा नलगाउनुहोस्। विशेष गरी पूजा गर्दा कालो, निलो वा खरानी (ग्रे) रङका कपडा नलगाउनुहोस्।
४ . कसैको मन नदुखाउनुहोस् र कसैलाई दुःख दिनुहोस्।