दुई पटक टी-२० विश्वकप खेलेको नेपाल तेश्रो पटक खेल्नको लागि डटेर तयारी गर्दै

काठमाडौं : सन् २०१४ र त्यसको एक दशकपछि, सन् २०२४ मा दुई पटक टी–२० विश्वकप खेलिसकेको नेपाल फेरि अर्को विश्वकप यात्राको तयारीमा जुटेको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले हालै मात्र, शुक्रबारका दिन, आइसिसी टी–२० विश्वकप छनोटको दोस्रो चरणको बन्द प्रशिक्षणका लागि भारत जाने २० सदस्यीय टोलीको घोषणा गरेको हो।

भारतको बैंगलोरुमा हुने यो प्रशिक्षण क्यानले विश्वकप छनोटलाई लक्षित गरी आयोजना गर्न लागेको हो। टोली चयनमा यसपटक अनुभवीभन्दा पनि नयाँ खेलाडीहरूलाई प्राथमिकता दिइएको छ।

बैंगलोरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा नेपालले भारतीय क्रिकेट नियन्त्रण बोर्ड (BCCI) को सहयोगमा साउन ५ गतेदेखि १८ गतेसम्म प्रशिक्षण गर्नेछ।

अस्ट्रेलियन प्रशिक्षक स्टुअर्ट लको आगमनसँगै नेपाली टोलीको प्रदर्शनमा उल्लेखनीय सुधार देखिएको छ। विशेष गरी ब्याटिङतर्फ सकारात्मक परिवर्तन देखिएको हो।

सन् २०२६ मा भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्न लागेको टी–२० विश्वकपमा २० देश सहभागी हुनेछन्। हालसम्म १५ देशले आफ्नो स्थान सुरक्षित गरिसकेका छन्।

अब बाँकी रहेका पाँच स्थानका लागि एसिया र अफ्रिकाबाट छनोट हुनुपर्नेछ। एसिया तथा पूर्वी एसियाली क्षेत्रीय छनोट खेलहरू आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा आयोजना हुनेछन्।

यस छनोट प्रतियोगितामा ९ टोलीबीच प्रतिस्पर्धा हुनेछ, जसलाई तीन समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘बी’ मा परेको छ र कुवेत तथा जापानसँग प्रतिस्पर्धा गर्नेछ।

त्यस्तै, समूह ‘ए’ मा संयुक्त अरब इमिरेट्स (यूएई), मलेसिया र कतार छन् भने समूह ‘सी’ मा ओमान, पपुवा न्यूगिनी र सामोआ रहेका छन्।

सिङ्गल राउन्ड रोबिन लिग प्रणालीमा हुने खेलमा हरेक समूहबाट शीर्ष दुई टोली ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन्। सुपर सिक्सबाट शीर्ष तीन टोलीले सन् २०२६ को विश्वकपमा स्थान बनाउनेछन्।

छनोट प्रतियोगिताअघि नेपालले अस्ट्रेलिया भ्रमण गर्ने कार्यक्रम रहेको छ, जहाँ नेपाली टोलीले वेस्ट इन्डिजसँग तीन खेलको टी–२० सिरिज खेल्नेछ।

प्रकाशित : शनिबार, साउन ०४, २०८२१७:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२२ औँ स्थानमा रहेको युगान्डाले १३ औँ स्थानमा रहेको युएईलाई हरायो