काठमाडौं: हिम स्टार उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ। लगानीकर्ताले यसमा असार २४ गतेदेखि आवेदन दिन सक्नेछन्।
कम्पनीले प्रति कित्ता १०० रुपैयाँ दरमा कुल ११ लाख १९ हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति प्राप्त गरिसकेको छ।
यस आईपीओमध्ये, पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १ लाख ८६ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९३ हजार २५० कित्ता शेयर पहिले नै निष्कासन भइसकेका छन्।
अब बाँकी रहेको आईपीओमध्ये, कम्पनीले आफ्ना कर्मचारीका लागि १८ हजार ६५० कित्ता र सामूहिक लगानी कोषका लागि ४६ हजार ६२५ कित्ता शेयर छुट्याएको छ। त्यसपछि बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिनेछ।
यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन अवधि छिटोमा असार २७ गतेसम्म कायम हुनेछ। तर, तोकिएको अवधिमा पर्याप्त आवेदन नपरेमा समयसीमा साउन ६ गतेसम्म लम्बिन सक्नेछ।
आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडले लिएको छ।