मेरी बास्सै सिरियलकी ‘अप्सरा’ रहिनन् यस संसारमा

काठमाडौँ : लोकप्रिय नेपाली हास्य सिरियल ‘मेरी बास्सै’मा ‘अप्सरा आमा’ को यादगार भूमिकाबाट दर्शकमाझ चिनिएकी कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। केही समयदेखि बिरामी अवस्थामा घरमै आराम गरिरहेकी श्रेष्ठको शुक्रबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

श्रेष्ठले ‘मेरी बास्सै’मा सीताराम कट्टेल (धुर्मुस) द्वारा निभाइएको पात्र खड्काजीकी घमण्डी र घोचपेच गर्ने श्रीमती ‘अप्सरा आमा’को भूमिकामा अभिनय गरेर व्यापक चर्चा कमाएकी थिइन्। उनको छुच्चो बोली, हावभाव र अभिनय शैलीले दर्शकलाई हँसाउने मात्रै होइन, नेपाली हास्य टेलिश्रृंखलामा विशिष्ट पहिचान पनि बनाएको थियो।

धेरै समयदेखि स्तन क्यान्सर लगायतका जटिल स्वास्थ्य समस्याबाट पीडित रहेकी उनी पछिल्लो केही सातादेखि गम्भीर अवस्थामा ओछ्यानमै थलिएकी थिइन्।

कलाकारिता क्षेत्रमा उनले लामो योगदान दिँदै विभिन्न टेलिश्रृंखला, चलचित्र र म्युजिक भिडियोहरूमा काम गरेकी छन्। ‘जिरे खुर्सानी’, ‘कान्छी’, ‘उल्टो सुल्टो’ जस्ता लोकप्रिय सिरियलका साथै शिवहरि पौड्यालको निर्देशनमा बनेको चलचित्र लक्का जवानमा समेत उनको उपस्थिति रहेको थियो।

श्रेष्ठको निधनले नेपाली मनोरञ्जन क्षेत्रमा अपूरणीय क्षति पुगेको छ। दर्शकहरूले उनको भूमिका र अभिनय सदैव सम्झिरहनेछन्।

प्रकाशित : शुक्रबार, असार २०, २०८२२३:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :