विकास हाइड्रोपावरको आईपीओ : असार १८ गतेदेखि सर्वसाधारणका लागि खुला

विकास हाइड्रोपावर कम्पनी लिमिटेडले यही असार १८ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ।

कम्पनीले यस चरणमा आम लगानीकर्ताका लागि २९ लाख ४२ हजार ७ सय ६० कित्ता साधारण शेयर सार्वजनिक रूपमा निष्काशन गर्न लागेको हो।

आईपीओमा आवेदन दिने अवधि असार १८ गतेदेखि सुरु भई असार २२ गतेसम्म कायम रहनेछ। लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

यस निष्काशनको बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले पाएको छ।

यसअघि कम्पनीले गोरखा जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै प्राथमिक चरणमा शेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ निष्काशनको स्वीकृति वैशाख १६ गते प्रदान गरेको हो।

विकास हाइड्रोपावरले कुल ४४ करोड ५४ लाख ५९ हजार ६ सय रुपैयाँ बराबरका ४४ लाख ५४ हजार ५ सय ९६ कित्ता शेयर निष्काशन गर्ने योजना अघि सारेको छ।

कम्पनीले गोरखाको धार्चे गाउँपालिका–४ मा अवस्थित ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला जलविद्युत आयोजना निर्माण कार्य सम्पन्न गरी २०७९ साल फागुन महिनादेखि विद्युत उत्पादन गरिरहेको छ।

हाल कम्पनीमा खगरिन्द्र न्यौपानेको १४ प्रतिशत, कृष्णप्रसाद घिमिरेको ८ प्रतिशत, सरोज धितालको ८ प्रतिशत, राजकुमार गुरुङको ७ प्रतिशत, इन्द्रबहादुर ढकालको ५ प्रतिशत, र सुनिल श्रेष्ठको ४ प्रतिशत स्वामित्व रहेको छ।

प्रकाशित : मङ्गलबार, असार १०, २०८२१२:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एसइई नतिजा आज प्रकाशित हुँदै, यसरी हेर्न सकिन्छ