नेपालले स्कटल्याण्डलाई मुश्किलले हरायो

स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय श्रृंखलाको दोस्रो खेलमा नेपालले रोमाञ्चक जित हात पारेको छ। स्कटल्याण्डले प्रस्तुत गरेको ९८ रनको सामान्य लक्ष्य नेपालले १९.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्दै २ विकेटको संघर्षपूर्ण जित दर्ता गर्‍यो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सबैभन्दा धेरै ३० रन बनाए। दिपेन्द्रसिंह ऐरीले १४, बसिर अहमदले १३ र किरण ठगुन्नाले १० रनको योगदान दिए। अन्य ब्याटरबाट भने दोहोरो अंकमा रन आउन सकेन। लोकेश बमले ९ रन बनाए भने कप्तान रोहित पौडेलले ७ रन जोडे। अनिल साह, रुपेश सिंह र करण केसीले समान ३ रन बनाए।

नेपालको इनिङ केही उतारचढावपूर्ण रह्यो। ३८-३ को अवस्थामा रहेका नेपालका लागि कुशल र दिपेन्द्रले २२ रनको साझेदारी गर्दै इनिङलाई अगाडि बढाए। तर, त्यसपछि नियमित अन्तरालमा विकेट गुमाउँदै नेपाल ६० रनमा चौथो, ७५ मा पाँचौं, ७७ मा छैठौं, ८७ मा सातौं र ९७ मा आठौं विकेट गुमायो।

अन्तिम समयमा २ बलमा १ रन आवश्यक हुँदा सन्दीप लामिछाने ब्याट लिएर क्रिजमा आएका थिए। उनले हल्कै शट खेल्दै १ रन पुरा गरेपछि नेपालले जित सुनिश्चित गर्‍यो। स्कटल्याण्डले रनआउटको प्रयास गरेपनि करण केसीले सुरक्षित रुपमा क्रिज टेकेका थिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्ड १९.४ ओभरमा अलआउट हुँदै जम्मा ९७ रनमै सीमित भएको थियो। स्कटल्याण्डका माइकल लिस्कले सर्वाधिक ४४ रन बनाए। म्याथ्यु क्रसले १५ र ब्रान्डन म्याकमुलेनले १० रनको योगदान गरे।

नेपालका बलरहरू मध्ये सन्दीप लामिछाने सबैभन्दा प्रभावशाली रहे। उनले ४ ओभरमा मात्र ११ रन खर्चिएर ४ विकेट लिए। करण केसी र दिपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए भने ललित राजवंशीले १ विकेट झारे।

स्कटल्याण्डले सुरुवाती ५ ओभरमै ५ विकेट गुमाएर दबाबमा परेको थियो। त्यसपछि क्रस र लिस्कले ३९ रनको साझेदारी गरेपनि अन्य ब्याटरले खासै सहयोग गर्न नसकेपछि टोली कम स्कोरमै सीमित भयो।

नेपालले यसअघि श्रृंखलाको पहिलो खेलमा नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरसम्म पुगेको प्रतिस्पर्धामा हार बेहोरेको थियो। नेपालले अब श्रृंखलाको अन्तिम खेल बिहीबार नेदरल्याण्ड्सविरुद्ध खेल्नेछ।

प्रकाशित : मङ्गलबार, असार ०३, २०८२२३:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :