काठमाडौँ : स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि२०आई सिरिजको सोमबार भएको दोश्रो तथा नेपालको पहिलो खेलमा तीनओटा सुपरओभर भएर खेल नेदरल्यान्ड्सले जित्यो। यो अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा तिनओटा सुपर ओभर भएको यो पहिलो पटक हो।
नेदरल्यान्ड्स र नेपालको खेल तीनओटा सुपरओभर भएर टुङ्गिएपछि सामाजिक सञ्जालमा यसले ब्यापक चर्चा पाएको छ।
इन्डियन प्रिमियर लिग(आईपिएल) को फ्रेञ्चाइज टोलीका सामाजिक सन्जालमा पनि यस विषयले चर्चा पाएको छ। आईपिएलका टोली चेन्नई सुपर किङ्ग्स र राजस्थान रोयल्सले सोमबारको खेलको हास्यास्पद टिप्पणी गरेको छ।
चेन्नई सुपर किङ्ग्सले नेपालको प्रतिस्पर्धात्मक खेलको प्रशंसा गर्दै नेदरल्यान्ड्सलाई बधाई दिएर एउटा फन्नी मिम शेयर गरेको छ भने राजस्थान रोयल्सले खेल सुरु भएर समाप्त नै नभएको भन्दै रमाइलो प्रतिक्रिया दिएको छ।
सोमबार राति नेदरल्यान्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा पराजित गर्दै रोमाञ्चक जित हात पारेको थियो।
नेदरल्यान्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५२ रन बनायो, जसपछि खेल पहिलो सुपर ओभरमा पुगेको थियो।
पहिलो सुपर ओभरमा नेपालले १९ रन जोड्दा नेदरल्यान्ड्सले पनि बराबरी १९ रन नै बनायो, जसले गर्दा खेल दोस्रो सुपर ओभरमा प्रवेश गर्यो।
दोस्रो सुपर ओभरमा पनि रोमाञ्च कायम रह्यो। नेदरल्यान्ड्सले १७ रन बनाए भने नेपालले पनि सोही लक्ष्य पूरा गरेर खेललाई तेस्रो सुपर ओभरसम्म पुर्यायो।
तर तेस्रो सुपर ओभरमा नेपालको प्रदर्शन कमजोर रह्यो। नेपालले ४ बलमै २ विकेट गुमाउँदै कुनै रन बनाउन सकेन। जवाफमा नेदरल्यान्ड्सका माइकल लेभिटले सन्दीप लामिछानेको पहिलो बलमै छक्का प्रहार गर्दै टिमलाई जित दिलाए।