नेपालमा पहिलो पटक शल्यक्रिया गरी पुरुषलाई महिला बनाईयो

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पहिलोपटक नेपालमै ट्रान्सजेन्डर व्यक्तिको लिङ्ग परिवर्तन शल्यक्रिया (मेल–टु–फिमेल) सफलतापूर्वक सम्पन्न गरेको छ।

प्लास्टिक सर्जरी विभाग प्रमुख, प्रा.डा. जयनमान श्रेष्ठले आइतबार पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।

उनका अनुसार, जनकपुरकी २५ वर्षीया ट्रान्सजेन्डर महिलाको शल्यक्रिया विदेशी प्लास्टिक सर्जन डा. अलरिजा हामीदियान जारोमीको नेतृत्व र प्रा.डा. श्रेष्ठकै संयोजनमा करिब ६ घण्टामा सम्पन्न गरिएको हो।

पुरुषको लिङ्गका तन्तुहरूलाई आवश्यकतानुसार प्रयोग गरी महिलाको प्रजनन प्रणाली पुनर्निर्माण गरिएको छ, जसले उक्त व्यक्तिलाई आफ्नो चाहेको लैङ्गिक पहिचान हासिल गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

डाक्टर श्रेष्ठले बताएअनुसार अस्पतालले जेठ १२ देखि १५ गतेसम्म ट्रान्सजेन्डर समुदायका लागि विभिन्न प्रकारका लिङ्ग प्रमाणीकरण (जेन्डर एफर्मिङ) शल्यक्रियाहरू पनि सम्पन्न गरेको छ। यसअघि यो प्रकारको शल्यक्रियाका लागि विदेश जानुपर्ने र धेरै खर्च लाग्ने बाध्यता थियो।

नेपालमै सेवा उपलब्ध भएपछि ट्रान्सजेन्डर समुदायकै लागि ठूलो राहत हुने उनी बताउँछन्। शल्यक्रियाको अनुमानित खर्च डेढ लाखदेखि दुई लाख रुपैयाँसम्म हुने उनले उल्लेख गरे।

त्यस्तै, अस्पतालका अर्का प्लास्टिक सर्जन प्रा.डा. ईश्वर लोहानीले बताएअनुसार अब ‘जेन्डर एफर्मिङ क्लिनिक’ स्थापना गरी यी सेवाहरू नियमित रुपमा सञ्चालन गरिनेछ।

उनी भन्छन्, “कुनै पनि सेवा पहिलो पटक सुरु गर्नु ठूलो कुरा होइन, तर त्यसलाई निरन्तरता दिनु नै महत्त्वपूर्ण हो। यसलाई ध्यानमा राख्दै अस्पतालले ठूलो टोली बनाएर क्लिनिक स्थापना गर्ने तयारी गरेको छ।”

ट्रान्सजेन्डर व्यक्तिको लागि लिङ्ग परिवर्तन शल्यक्रिया उनको लैङ्गिक पहिचान पूरा गर्ने एक महत्वपूर्ण उपाय मानिन्छ।

यद्यपि सबै ट्रान्सजेन्डरले यो शल्यक्रिया गर्नु आवश्यक नठान्न सक्छन्, केही व्यक्तिले शल्यक्रियापछि आफूले आफूलाई पूर्ण रूपमा परिवर्तन गरेको अनुभूति गर्छन्, र यसले उनीहरूलाई आत्मिक सन्तुष्टि प्रदान गर्ने विश्वास गरिएको छ।

प्रकाशित : आइतबार, जेठ २६, २०८२१५:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :