सुनसरीको विभिन्न स्थानहरुबाट प्रतिबन्धित तथा नियन्त्रित औषधि सहित ६ जानालाई प्रहरीले पक्राउ गरेको छ।
धरान उपमहानगरपालिका–१, शीतल मार्गस्थित एक घरमा गोप्य सूचनाका आधारमा वैशाख १९ गते राति पौने १२ बजे वडा प्रहरी कार्यालय धरानको टोलीले छापा मार्दा भोजपुरका ३० वर्षीय सुजन श्रेष्ठ, १७ वर्षीय अंगत श्रेष्ठ र ३१ वर्षीय सागर राईलाई लुकाइ–छुपाइ राखिएको प्रतिबन्धित औषधि नियन्त्रणमा लिइएको छ। बरामदसामग्रीमा ट्रामाडोल, कोलिवान, स्पास्पेन, डिकोलिक, नाइट्राजेपाम र एरोमिन्क गरी कुल १० हजार ३१५ पिस, ब्राउन सुगर १ ग्राम ७६० मिलिग्राम र नगद रू. २, ५३, ७९६ पनि समावेश छन्।
त्यसै रात, धरान–१५ लक्ष्मण मार्गस्थित अर्को अपरेसनमा धनुषा–जनकपुर घर भई हाल त्यहीँ बसोबास गर्ने २५ वर्षीय राहुल शाह र उनकी श्रीमती २४ वर्षीय लक्ष्मी राईको कोठाबाट ५ हजार ५० ट्रामाडोल क्याप्सुल बरामद गरी दुबै जनालाई पक्राउ गरिएको छ।
उही क्रममा, धरान–१७, सियोन मार्गस्थित कोठामा छापा मार्दा ४० वर्षीय ममता भगतलाई ट्रामाडोल, २० स्पास्पेन र अपाडोल गरी कुल ६ हजार २८५ चक्की औषधिसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार, पक्राउ परेकाहरूविरुद्ध लागु औषध नियन्त्रण ऐनअनुसार आवश्यक कारबाहीका लागि मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ। प्रहरीले आपूर्ति श्रृंखला र सम्भावित अन्य संलग्नको पहिचान गर्ने क्रममा पनि सक्रियता तेज पारेको बताएको छ।