काठमाडौँ । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) लटरी सन् २०२६ को परिणाम सार्वजनिक भएको छ। न्युयोर्क समयअनुसार शनिबार मध्यान्ह १२ बजे यस वर्षको विजेताहरूको सूची अनलाइनमार्फत् कन्सुलर अफेयर्स ब्यूरो, अमेरिकी विदेश मन्त्रालयले प्रकाशित गरेको हो।
नयाँ छनोट भएका आवेदकहरूले सन् २०२५ अक्टोबर १ देखि भिसा प्रक्रिया अघि बढाउन सुरु गर्न सक्नेछन् भने भिसा जारी गर्ने अन्तिम म्याद सन् २०२६ सेप्टेम्बरको अन्त्यसम्म तोकिएको छ।
यो म्यादभित्र प्रक्रिया पूरा हुन नसकेकाहरू स्वचालित रूपमा अयोग्य ठहरिनेछन्।
गत वर्ष अक्टोबर २ देखि नवेम्बर ७ बीच फारम भरेका सहभागीहरूलाई आफ्नो परिणाम dvprogram.state.gov/ESC वेबसाइटमा गएर आफ्नो कन्फर्मेसन नम्बर प्रयोग गरी जाँच गर्न सकिने जानकारी मन्त्रालयले दिएको छ।