बैतडी, उहाँको ऊर्जाशील समय परोपकारमा नै बित्यो तर अहिले भने उहाँको जीवन गुजारा अरूले कहिले र के दिन्छ त्यही आशमा हुन थालेको छ। बैतडीको दशरथ चन्द नगरपालिकाका ‘जेनेरेटर बाजे’ २०४३ सम्म कोही दुर्घटनामा परे वा कुनै घटनाको ताजा समाचार कतै पठाउनुपरे उपयोगी हुनुहुन्थ्यो। यो समाचार गोरखापत्रमा प्रकाशित छ।
तर २०४३ मा बैतडीमा महाकाली पारिबाट बिजुली आएसँगै बैतडी अस्पताल र आकाशवाणीका लागि ‘जेनेरेटर बाजे’ अर्थात् रामसिंह गुरुको सेवा आवश्यक परेन। जेनेरेटर विस्थापित भएसँगै उहाँको २०३३ देखिको जागिर गयो। उमेर छउन्जेल त उहाँ र परिवारको गुजाराका लागि खासै समस्या भएन अहिले वृद्धावस्थाका कारण उहाँ मागीखाने अवस्थामा पुग्नुभएको छ।
७२ वर्षीय ‘जेनेरेटर बाजे’ले २०३३ सालमा बैतडी अस्पतालको एक्सरे र खलङ्गामा रहेको आकाशवाणी (आवा) मेसिन सञ्चालन गर्न जेनेरेटर चलाउने जागिर पाउनुभएको थियो। मानिसहरू दुर्घटनामा परे वा कतै आवा गर्नु परे उहाँको खोजी हुन्थ्यो। करारमा जेनेरेटर चलाउँदै आउनुभएका उहाँलाई सदरमुकाममा बत्ती आएसँगै २०४३ सालमा सेवाबाट हटाइएपछि अहिले मागेर परिवार पाल्दै आउनुभएको छ।
विक्रम संवत् २००८ सालमा बैतडीकोे दशरथचन्द नगरपालिका–८, त्रिपुरामा जन्मिनुभएका रामसिंह गुरुलाई स्थानीयले स्यान्टु गुरु भनेर पनि बोलाउने गरेका छन्। उहाँ अहिले आँखा देख्नुहुन्न। तैपनि दुवै हातले लौरो टेक्दै “मलाई १०/२० रुपियाँ दिनुहोस् न!” भन्दै दशरथचन्द मार्गको गोठालापानी–झुलाघाट सडकमा अनुनय गरिरहेको अवस्थामा भेटिनुहुन्छ।
सडकमा माग्दै हिँडिरहेका उहाँले घरको अवस्था दयनीय भएको पीडा सुनाउनुभयो। रातदिन जेनेरेटर चलाउँदा खाएको धुवाँले अहिले दम बढ्ने गरेको उहाँले बताउनुभयो। “वि.सं. २०३३ सालदेखि २०४३ सालसम्म बैतडी अस्पतालको एक्सरे मेसिन र गढीको आवाका लागि रातदिन नभनी जेनेरेटर चलाएँ,” उहाँले भन्नुभयो, “आवा मेसिन पनि अस्पतालकै जेनेरेटरबाट चलाइन्थ्यो। डाक्टरले अह्राएका बेला एक्सरे मेसिन पनि चलाएँ।
जेनेरेटरको धुवाँको असरले छाती दुख्ने गरेको बताउँदै उहाँले नोकरी गरेर परिवार पाल्ने धोको त्यही धुवाँसँगै बिलाएको दुखेसो गर्नुभयो । २०४२ सालमा भारतबाट खलङ्गामा बिजुली आएपछि मलाई सेवाबाट हटाइयो।
कार्यालय सहयोगी राखिदिन अनुनय गरे पनि तिम्रो दिमाग ठीक छैन भनेर फर्काए।” सडक किनारमा लामो सुस्केरा हाल्दै उहाँले घरमा खाने अन्न नहुँदा वृद्ध श्रीमती मैनादेवी गुरु मकै माग्न माइत गएको बताउनुभयो। मकै लिएर आए साँझ–बिहानको छाक टर्ने उहाँले बताउनुभयो।
घरको आर्थिक अवस्था कमजोर हुँदा उहाँका एक्लो छोरा रोशन गुरुले कक्षा १२ मै पढाइ छाडेर बस्नुभएको छ। “बुवा आँखा देख्नुहुन्न। आमा काम गर्न सक्नुहुन्न,” २२ वर्षीय रोशनले भन्नुभयो, “दैनिक छाक टार्न समस्या हुनथालेपछि बाख्रा पाल्न पढाइ छाडेको हुँ। स्कुल ड्रेस, कापीकलम किन्न सकिएन। दिदीको विवाह भएपछि घरधन्दा चलाउन र आमाबुवाको स्याहार गर्न पनि कुनै सहयोगी छैनन्।” पढ्न मन भए पनि घरको अवस्थाले साथ नदिएपछि गोठालो बन्नुपरेको उहाँले बताउनुभयो।
‘जेनेरेटर बाजे’ बस्ने घर जीर्ण अवस्थामा पुगेपछि स्थानीय वडा कार्यालयको सहयोगमा मर्मत गरिएको पूर्व वडा सदस्य भवानी गुरुले बताउनुभयो। जिल्ला अस्पताल बैतडीको जेनेरेटर अपरेटर हुँदा सबैले खोजी गर्ने पात्र अहिले सेवाबाट हटेको ४६ वर्ष भयो। जेनेरेटरको धुवाँको असरले छाती दुख्ने गरेको बताउँदै जेनेरेटर बाजेले नोकरी गरेर परिवार पाल्ने धोको त्यही धुवाँसँगै बिलाएको बताउनुभयो।