नेपाली रुपियाँ भन्दा कमजोर बन्दै भारु

दार्चुला, फागुन २८ गते । दार्चुलाको लेकम गाउँपालिका–५ का पुरुषोत्तम जोशीले पेट्रोल खरिद गरेबापत भारतीय रुपियाँ दिँदा गोकुलेश्वर पेट्रोलपम्पले लिन मानेन। पम्पले भारु लिन नमानेपछि जोशीले मोबाइल बैङ्किङमार्फत भुक्तानी गर्नुभयो। यो समाचार गोरखापत्रमा प्रकाशित छ।

शैल्यशिखर नगरपालिका–७ का प्रेम धामी गोकुलेश्वरस्थित हार्डवेयर पसलमा छड (सरिया), सिमेन्ट किन्न जाँदा बिक्रेताले सुरुमै सोध्नुभयो, “तपाईंसँग भारु छ कि नेरु?” धामीले भारु भएको बताउनेबित्तिकै बिक्रेताले भारु नचल्ने तर चलाउनैपर्ने भए पूरा रकम नपाइने जानकारी दिएपछि सामान नकिनी धामी घर फर्किनुभयो।

केही समय अघिसम्म सीमावर्ती बजारमा किनमेल र उपचारका लागि भारु साट्न कुनै समस्या थिएन। नेपालतर्फ पनि भारु देख्नेबित्तिकै सङ्कलन गरेर राख्ने चलन थियो। नेरुबाट भारु सटहीका लागि कमिसन पनि दिनुपथ्र्यो। तर अहिले ठीक उल्टो छ। बजारमा मात्रै होइन, गाउँमा पनि भारु नचल्ने अवस्था आएको लेकम गाउँपालिका–५ का व्यवसायी कृष्णदेव जोशीले बताउनुभयो।

नेरुबाट भारु सटहीका लागि कमिसन पनि दिनुपथ्र्यो तर अहिले ठीक उल्टो भएको छ । बजारमा मात्रै होइन, गाउँमा पनि भारु नचल्ने अवस्था आएको छ । पहिले भारतबाट सामान आउँथे र ती सामान किन्न भारुकै खोजी गरिन्थ्यो। अहिले अधिकांश सामान नेपालकै खरिद बिक्री भइरहेको छ।

उहाँका अनुसार दार्चुलाका अधिकांश गाउँमा सामान जाने गोकुलेश्वरलगायत बजारमा भारु चलाउन मान्दैनन्। भारतमा रोजगारी गरेर घर फर्कनेका लागि पनि अहिले भारुबाट नेरु सटही चिन्ताको विषय हुन थालेको छ। पहिले भारु पाउँदा कमिसन दिन तम्सिने व्यापारी नै अहिले नेरु साट्दा कमिसन माग्छन्। एक हजार भारुबराबर एक हजार रुपियाँमा साट्नुपर्ने अवस्था आएको खलङ्गाका एक व्यापारीले बताए।

भारतको उत्तराखण्ड पिथौरागढबाट नेपाल आउने भारतीयले पनि भारु सटहीमा समस्या भोग्नुपरेको गुनासो गरेका छन्। करिब दुई महिना पहिलेदेखि भारु कमजोर हुँदा स्थानीय सेवाग्राही र व्यवसायी पनि मारमा परेका छन्। हाल आएर भारुको चलनचल्तीमै समस्या देखिन थालेको उद्योग वाणिज्य सङ्घ दार्चुलाका अध्यक्ष सुरेशसिंह थापाले बताउनुभयो। भारततर्फको कारोबार कम हुँदै गएको र भारु भित्रिनेक्रम यथावत् रहेकाले अहिले भारु कमजोर देखिएको उहाँले बताउनुभयो।

प्रकाशित : आइतबार, फागुन २८, २०७९०७:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

उपराष्ट्रपति पदलाई लिएर गठबन्धनमा लफडा, तीन जनाले दिए उम्मेदवारी !