काठमाडौं । सौन्दर्य प्रतियोगिताको आवरणमा बालिकामाथि यौन दुव्र्यवहार गरेको अभियोग लागेका मनोज पाण्डे दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेविरुद्धको अभियोगमा दाबी पुग्ने ठहर गर्दै सजाय सुनाएको छ । बालयौन दुव्र्यवहारमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिमाना हुने मुलुकी ऐनमा उल्लेख छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।
जिल्ला सरकारी वकिलको कार्यालयले १ असार २०७९ मा पाण्डेविरुद्ध जबर्जस्ती करणी र यौन दुव्र्यवहार अभियोगमा मुद्दा दायर गरेको थियो । एक मोडललाई लामो समयसम्म बलात्कार तथा यौन दुव्यवहार गरेको आरोप पाण्डेमाथि लागेको थियो ।
सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागीलाई होटलमा बोलाएर बलात्कार गरेको आरोप पाण्डेमाथि लागेको थियो । पाण्डेले बलात्कारपछि फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौनशोषण गरेको पीडितले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् ।