माछापुच्छ्रेले लुकायो आफ्नो रुप, हिउँ नपर्दा बुच्चै !

पोखरा – यस वर्षको पुस गयो, माघ पनि आधा आधि जान लाग्दासमेत कुमारी हिमाल माछापुच्छ्रेले आफ्नो रूप देखाउनै सकेन। अहिले सुदूरपश्चिम र कर्णालीतिर हिउँ परे पनि माछापुच्छ्रेसम्म हिउँ आइपुगेको छैन। यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।

बायाँ धौलागिरि र दायाँ अन्नपूर्ण च्यापेर बसेको माछापुच्छ्रेको कञ्चन हिउँ पग्लेर क्रमशः कालो पहाडमा परिवर्तन हुँदै गएको छ। पोखरा आउने पर्यटकको रोजाइमा परी क्यामरामा कैद हुने माछापुच्छ्रेसँग यतिबेला पर्यटक पनि खुसी छैनन्। क्यामराका लेन्सले खोजेको माछापुच्छ्रेले आफ्नो रूप लुकाएजस्तो देखिन्छ।

पोखरा भन्नेबित्तिकै फेवाताल र माछापुच्छ्रेकै कुरा आउँछ तर आज माछापुच्छ्रे आफैँ खुसी छैन। अन्य हिमाल आरोहण गरे पनि माछापुच्छ्रेलाई अहिलेसम्म कसैले आरोहण गर्न नसकेकाले पोखरेलीहरू यसलाई ‘कुमारी हिमाल’को नामबाट सम्बोधन गर्दछन्। पर्यटनविद् झलक थापा भन्नुहुन्थ्यो, “माछापुच्छ्रे होइन, कुमारी हुन्।” तर अहिले कुमारी हिमाल कुमारीजस्तो हुन सकेको छैन। आफ्नो हिउँको घुम्टो उघारेर कालो रूप देखाउने रहर त माछापुच्छ्रेलाई पनि थिएन होला। यसको पछाडिको कारण समयमै खोज्नुपर्ने स्थानीय पर्यटनविद्हरू बताउँछन्।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा आएका पर्यटकले यतिखेर सफेद, स्वच्छ, मनमोहक हिमालको सुन्दरता अघाउने गरी हेरेर आनन्द लिन नसकेको बताउनुभयो। उहाँले थप्नुभयो, “हिमालको हिउँ हराउँदै जानुको पछाडिको कारण अन्तर्राष्ट्रिय स्तरबाटै अनुसन्धान गरिनु पर्दछ।”

पश्चिमी वायुले वर्षा नगराउँदा कुमारी हिमाल माछापुच्छ्रेले सेताम्मे हिमालको रङ्ग अनुभूत गर्न पाइनन्। वातावरणविद् डा. कृष्ण केसी भन्नुहुन्छ, “समुद्रमा उत्पन्न हुने लालिनाको गतिविधि सक्रिय हुनुपर्ने थियो, अहिलेसम्म भएन। त्यसैले पनि हिउँ परेन।” छ हजार ९९३ मिटर उचाइको माछापुच्छ्रेभन्दा ८१६७ मिटरको धौलागिरि हिमालमा केही हिउँ देखिएको छ। धौलागिरिको चौथो लहरसम्म हिउँ भए पनि माछापुच्छ्रेमा भने मट्ठै नभएको डा. केसीले बताउनुभयो।

प्रकाशित : बुधबार, माघ ११, २०७९०६:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आफ्नो पावर बढाउन प्रचण्ड र माधव अगाडी बढे, पाँच कम्युनिष्ट एक ठाउँमा हुने सम्भावना ! को-को ?