विराटनगर : पहिचान नखुल्दा र चिनजानका कोहीपनि सम्पर्कमा नआएका कारण दुर्घटनामा परेर गम्भीर घाइते भएका पुरुषको टाउकाको शल्यक्रिया रोकिएको छ।मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचाररत अन्दाजी ४०/४५ वर्षीय पुरुषको शल्यक्रिया हुन नसकेको हो। घाइतेको पहिचान नहुँदा र आफन्त तथा परिवारका सदस्य फेला नपर्दा थप उपचारमा समस्या भइरहेको अस्पतालले जनाएको छ।
साइकलमा यात्रा गरिरहेका पुरुषलाई एनएल ०१ एएफ १६१२ नम्बरको भारतीय नम्बर प्लेटको लहरीले गत मंसिर २० गते दिउँसो कोसी लोकमार्गअन्तर्गत सुनसरीको दुहवी नगरपालिका–८ सोनापुरमा ठक्कर दिएको थियो। यो समाचार अन्नपूर्णपोस्ट दैनिकमा प्रकाशित छ।
दुर्घटना भएको झण्डै १ साता पुग्न लाग्दा पनि घाइतेको पहिचान हुन सकेको छैन भने आफन्त र परिवारका सदस्यसमेत अस्पताल एवं प्रहरीको सम्पर्कमा आएका छैनन्।अस्पतालका प्रशासन प्रमुख प्रमेश देवकोटाले आफन्त र परिवारका सदस्य नभेटिँदा घाइतेको शल्यक्रिया र उपचारमा समस्या भइरहेको जानकारी दिए।
‘घाइतेको दाहिने खुट्टा र चारवटा करङ भाँचिएको छ,’ उनले भने, ‘टाउकोमा रगतसमेत जमेकाले अवस्था गम्भीर छ।’ देवकोटाका अनुसार आफन्त वा परिवारका सदस्य नभेटिएका कारण टाउकाको शल्यक्रिया गर्न पाइएको छैन।
सम्भावित जोखिम कसले बेहोर्ने भन्ने यकिन नहुँदा शल्यक्रिया गरेर थप उपचार अघि बढाउन नपाइएको देवकोटाको भनाइ छ। प्रहरीले भने घाइतेको पहिचानको प्रयास भइरहेको जनाएको छ।
इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक जयदेव माझीले घाइतेको पहिचानको प्रयास गर्दै आफन्त एवं परिवारका सदस्यको खोजी तीव्र पारिएको बताए। ‘प्रहरी परिचालन गरेर र सामाजिक सञ्जालमार्फत व्यापक खोजी भइरहेको छ। तर, पत्ता लगाउन सकिएको छैन,’ उनले भने।
दुर्घटना गराउने लहरी र चालक भारतको बिहार आरा जिल्ला घर भएका ४९ वर्षीय दिनेश पासवानलाई भने नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाइएको माझीले बताए। उनले घाइतेको उपचारमा सहजीकरण गर्नका लागि दुर्घटना गराउने पक्षलाई अस्पतालको सम्पर्कमा पठाइसकिएको बताए।