जतिबेला टाउकोको फुटबल खेलिन्थ्यो, हार्ने टिमका सदस्यलाई भगवान्को नाममा चढाइन्थ्यो बलि

विश्वका बहुसङ्ख्यक खेलप्रेमीको मन लोभ्याउने शीर्ष खेलमध्ये एक मानिने फुटबलको आदिम इतिहास दुई हजार वर्षभन्दा लामो देखिन्छ । ‘फुटबल हिस्ट्री’ वेबसाइटमा प्रकाशित एक लेखका अनुसार तीन हजार वर्षअघि प्राचीन मध्यअमेरिका(Mesoamerica)मा ढुङ्गाको बल खेलिन्थ्यो। मध्यअमेरिकका आदिवासी एज्टेक (Aztecs)ले त्यस प्रकारको खेललाई चिटाली (Tchatali) भन्ने गरेका थिए । ‘फुटबल हिस्ट्री’ वेबसाइटका अनुसार प्राचीन मध्यअमेरिकी संस्कृतिमा बललाई भगवान्को प्रतीक मानिन्थ्यो भने खेलमा हार्ने टिमका सदस्यलाई सोही भगवान्को नाममा बलि चढाइन्थ्यो । कुनै ठाउँमा त शत्रु तथा विरोधीको शिरच्छेद गरी टाउकोको फुटबल खेलिन्थ्यो भन्ने भनाइ पनि छ । यद्यपि यस प्रकारको हिंस्रक अभ्यासलाई खेलकै रूपमा स्वीकारिएको कुनै प्रामाणिक अभिलेखचाहिँ भेटिँदैन ।

मिश्र तथा युनानमा क्रमशः इसापूर्व २५०० तथा इसापूर्व ४०० तिर फुटबलको आदिम अभ्यास अस्तित्वमा आएको ‘ प्लेयर अन साइट’ वेबसाइटमा उल्लिखित छ । रोमेली तथा युनानीहरूले फुटबलको आदिम संस्करणलाई क्रमशः इपिस्काइरस (Episkyros) र हरपस्टम (Harpastum) नामकरण गरेका थिए । यसैगरी अस्ट्रेलियाली आदिवासीले पनि आफ्नै शैलीका फुटबल खेल्थे , जसलाई मार्न गुक (Marn gook) भनिन्थ्यो ।

सन् १४०८ मा आएपछि मात्र बेलायती राजकुमार हेनरी चतुर्थले फुटबल भन्ने अङ्ग्रेजी शब्द पहिलो पटक प्रयोग गरेको विश्वास गरिन्छ । रोम, युनान तथा अस्ट्रेलियामा प्रचलित फुटबलको आदिम शैलीबारे धेरथोर चर्चा भए पनि तिनीहरूका शैलीगत पक्ष र नियमको सूक्ष्मतम् विवरण भने उपलब्ध छैनन् । हालसम्म प्राप्त सार्वजनिक अभिलेखअनुसार इसापूर्व ३०० देखि २०० ताका चीनमा सुजु (Cuju) नामले परिचित एक खेल सैनिक अभ्यासका क्रममा खेलिन्थ्यो । त्यसलाई नै बहुसङ्ख्यक अध्येताले फुटबलको आदिम रूप मान्छन् । त्यस समयमा छालाको बलभित्र भुवादार वस्तु तथा प्वाँख हालेर बल तयार पारिन्थ्यो भन्ने भनाइ छ। यसको गोलाइ ३० दे खि ४० सेन्टिमिटर हुन्थ्यो । खेल खेल्दा खुट्टाले बल प्रहार गरिन्थ्यो । यस क्रममा छाती, पिठ्यु र काँधको प्रयोग गर्न पाइन्थ्यो। । यही आधारमा यसलाई फुटबलको नजिकको पूर्वज मानिन्छ।

कालान्तरमा सुजुको परिमार्जित संस्करणको केमरी (Kemari) जापानमा प्रचलनमा आयो । चीनमा सुजु प्रचलनमा आएको लगभग छ शताब्दीपछि केमरी प्रचलन आएको अनुमान गरिएको छ, जसबारे कालक्रमगत मतभिन्नता रहिआएको देखिन्छ। प्राचीन समयमा जनावरका मूत्राशय (bladder), नरिवलका डल्ला तथा यस्तै अन्य गोलाकार फल तथा वस्तुलाई फुटबलका रूपमा प्रयोग गरिन्थ्यो भन्ने भनाइ छ, जुन धेरै हदसम्म तर्कसङ्गत र समयसम्मत छ।प्राचीन समयमा फुटबलका असङ्ख्य स्थानीय स्वरूप भेटिन्छन् । त्यस समयमा खेलको कुनै निश्चित नियम नभएको अध्येताहरूको राय छ । कतिपयको भनाइअनुसार एउटै खेलमा सयभन्दा बढी खेलाडी भिड्थे। खेलमा डन्डाको पनि प्रयोग गरिन्थ्यो। खेल खेल्ने क्रममा समय–समयमा मनमुटाव र झगडा पनि हुन्थ्यो। यसबाट खेलाडी घाइते हुनुका साथै हिंसात्मक झै-झगडा पनि हुन्थे। परिणामस्वरूप खेलाडीको ज्यानसम्म जान्थ्यो ।

फुटबलको आदिम शैली संसारका कुनाकन्दरामा बाक्लै रूपमा प्रचलनमा रहेपनि यसको क्रमिक र नियमबद्ध विकास भने बेलायतमा भएको इतिहासले देखाउँछ। बेलायतमा मङ्गलबारका दिनलाई फुटबल दिवस मानिन्थ्यो। त्यस दिन मानिस सारा काम छाडेर फुटबल खेल्ने र हेर्ने काममा व्यस्त हुन्थे भन्ने भनाइ छ । फुटबल खेल्ने क्रममा हुलदङ्गा तथा झै-झगडा हुने गर्दथे, जसलाई विभिन्न घटना क्रमले पुष्टि गर्छन्। फुटबल खेलमा हुने हिंसात्मक झै-झगडा र दुर्घटनालाई नियन्त्रण गर्न विभिन्न कानुनी उपाय पनि रचिएको पाइन्छ ।

बेलायती राजा एडवर्ड द्वितीय (सन् १२८४–१३३७)ले सन् १३१४ मा फुटबलमा खेलमा प्रतिबन्ध लगाएका थिए। यसपछि उनका उत्तराधिकारी एडवर्ड तृतीय (सन् १३१२–१३७७)ले पनि सन् १३४९ फुटबलखेलमाथि प्रतिबन्ध लगाएको इतिहास भेटिन्छ। पछि फुटबल ऐनअन्तर्गत सन् १४२४ मा फुटबल खेलमाथि प्रतिबन्ध लगाएको थियो। तत्कालीन बेलायती महारानी एलिजाबेथ प्रथम (सन् १५३३–१६०३)ले पनि फुटबलमाथिको प्रतिबन्ध जारी राखिन्। खेलमा प्रतिबन्ध लागे पनि अटेर गरी भूमिगत रूपमा फुटबल खेल्ने परिपाटी भने कायमै रह्यो । सन् १६०५ आएर मात्र बेलायतमा फुटबलले कानुनी मान्यता प्राप्त गरेको देखिन्छ।

इस्वीको १९ औँ शताब्दीको पूर्वाद्र्धतिर बेलायतका विद्यालय तथा कलेजहरूमा फुटबल खेल लोकप्रिय भइसकेको थियो। सन् १८१५ मा बेलायतको इटन कलेजले फुटबल खेलको नियम बनायो। समय क्रममा फुटबल टिमहरू पनि सङ्गठित हुँदै गए र समयानुकूल नियमहरू बन्दै गए । सन् १८५७ मा ‘सेफिल्ड फुटबल’ स्थापना भयो, जुन संसारको सबैभन्दा पुरानो जीवित र सक्रिय फूटबल क्लब हो । यो क्लब फुटबल जगत्मा गतिलो ब्रान्ड बन्न पुगेको छ । फुटबलसम्बन्धी घटना क्रम विकास हुँदै जाँदा सन् १८६३ मा लन्डनमा ‘फुटबल एसो सिएसन’ को स्थापना भयो। यससँगै फुटबलको स्थानीय नियमलाई परिमार्जन गरी थप स्पष्ट र दरिलो बनाउने कार्य सुरु भयो।

प्रकाशित : आइतबार, मङि्सर ०४, २०७९१४:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज यस स्टेडियम हुनेछ वर्ल्ड कपको ग्राण्ड ओपनिङ