काठमाडौँ, दशैँ नजिकिँदै गर्दा बजारमा चहलपहल बढेको छ । ठूलाठूला व्यापारिक मलदेखि सडकपेटीमा सामान किनबेच गर्नेको भीडभाड बढेको छ । एक सातायता बजारमा दैनिक उपभोग्य वस्तुुदेखि लत्ताकपडा, जुत्ताचप्पललगायतका सामान किनमेल गर्ने ग्राहकको चहलपहल बढ्दै गएको हो । यो समाचार गोरखापत्रमा प्रकाशित छ।
सार्वजनिक बिदाको दिन भएकाले शनिबार काठमाडौँको मुख्य व्यापारिक केन्द्र नयाँ सडकमा किनमेल गर्नेको भीडभाड झन् धेरै थियो । दशैँ मान्न उपत्यकाबाहिर घर जानेहरू चाँडै किनमेल गरेर घर फर्कने हतारोमा देखिन्छन् ।
कारोबार कम छ
बजारमा ग्राहकको भीड बढे पनि कारोबार भने घटेको व्यापारी बताउँछन् । सामान्य वर्षको दशैँको तुलनामा यस पटकको दशैँको कारोबार आधाले घटेको व्यापारीको भनाइ छ । नयाँ सडकको तयारी कपडा बेच्ने गुप्ता सप्लायर्सका सञ्चालक दिनेश गुप्ताले बजारमा देखिएको भीडजस्तो कारोबार बढ्न नसकेको बताउनुभयो । “दिनप्रतिदिन ग्राहकको सङ्ख्या बढ्दै छ तर विगतका वर्षजस्तो व्यापार बढ्न सकेको छैन,” उहाँले भन्नुभयो । विगतका दशैँमा दैनिक ५० देखि ६० हजार रुपियाँको कारोबार हुने गरेकामा अहिले २५ देखि ३० हजार रुपियाँको कारोबार हुने गरेको उहाँले बताउनुभयो ।
नयाँसडक, मखन टोलको बिक्की स्टोरका सञ्चालक विक्की रौनियारले दशैँको चहलपहल बढे पनि कारोबार उत्साहजनक नभएको बताउनुभयो । “विगतका दुई वर्ष कोभिड–१९ को कारणले व्यापार हुन सकेन । यस पटक बैङ्कमा तरलता अभाव र चर्काे ब्याजले गर्दा व्यवसायीले लगानी गर्न नसक्दा व्यापार बढ्न सकेको छैन,” रौनियारले भन्नुभयो ।
भृकुटीमडण्डपमा १५ वर्षदेखि जुत्ताचप्पलको व्यापार गर्दै आउनुभएका काभ्रेका पूर्ण लामाको अनुभव पनि यस्तै छ । विगतका वर्ष दशैँको बेला दिनमा ४० देखि ५० हजार रुपियाँको व्यापार हुने गरेकामा अहिले आधाले घटेको उहाँले बताउनुभयो ।
नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका पूर्वअध्यक्ष नरेश कटुवालले कारोबार घटेर ५० प्रतिशतमा झरेको बताउनुभयो । “बैङ्कमा तरलता अभाव, चर्काे ब्याज र पेट्रोलियम पदार्थको मूल्य वृद्धिलगायतका कारण व्यापार बढ्न सकेको छैन,” उहाँले भन्नुभयो । अहिले खुद्रा व्यापार नियमित रूपमा भए पनि थोक व्यापारमा कारोबार बढ्न नसकेको पूर्वअध्यक्ष कटुवालले जानकारी दिनुभयो । “साना व्यवसायीलाई बैङ्कले ऋण दिँदैन, सहकारीबाट निकाल्नुपर्छ । सहकारी समस्यामा परेकाले ऋण पाउन नसक्दा व्यवसायीलाई आर्थिक सङ्कटमा छन्,” उहाँले भन्नुभयो ।