वनको जग्गामा साबुन उद्योग खोल्दै हर्क !

काठमाडौँ – धरान उपमहानगरपालिकाले कानुन विपरीत वनको जग्गामा साबुन उद्योग खोल्ने प्रयास गरेको छ।कार्यपालिका बैठकले साबुन उद्योग खोल्ने निर्णय गरे पनि कुन ठाउँमा खोल्ने भन्ने तोकेको थिएन। ठाउँ स्पष्ट नतोकी कार्यपालिकाले उद्योग खोल्ने निर्णय गरेपछि मेयर हर्क साम्पाङ वडा नं २० स्थित जलकन्या सामुदायिक वन क्षेत्रमा उद्योग बनाउन अघि सारेका छन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

सर्दु खोला किनारमा रहेको उक्त वन क्षेत्रमा अतिक्रमणबाट जोगाउन वन कार्यालय, वन समूह र स्थानीयबासीले वृक्षारोपण गरेका थिए। अतिक्रमण भएको टहरा हटाएर रोपिएको विरुवाले अहिले सो क्षेत्र हरियाली भएको छ। त्यही क्षेत्रमा समन्वय नगरी उपमहानगरपालिकाले साबुन उद्योग बनाउन लागेपछि वन कार्यालय र उपभोक्ता समूहमा असन्तुष्टि छ।

धरान ८ स्थित तीनकुनेमा नेपाल सरकार मातहतकै औद्योगिक क्षेत्र सञ्चालित छ भने वडा नं ६ स्थित पानबारीमा औद्योगिक ग्रामको योजना पनि छ तर उपमहानगरपालिकाले भने यी दुवै क्षेत्रलाई छोडेर वनको जग्गामा उद्योग खोल्न लागेपछि कानुन तगारो बनेको छ।

वन कार्यालय र उपभोक्ता समूहले वन क्षेत्रको जग्गा सरकारबाट भोगाधिकार नपाइ स्थानीय तहले जर्बजस्ती उद्योग खोल्न नपाउने प्रष्ट पारेको छ। साथै, आवश्यक प्रक्रिया पूरा गरेर मात्र उद्योग खोल्न वन कार्यालय र उपभोक्ता समूहले उपमहानगरपालिकालाई आग्रहसमेत गरिसकेको छ।

विष्णुपादुका सब डिभिजन कार्यालयका इञ्चार्ज चन्द्रबहादुर बर्मेका अनुसार वन ऐनले वन क्षेत्रको जग्गामा कसैलाई पनि हकभोग गर्न तथा भौतिक संरचनाहरू निर्माण गर्न छुट दिएको छैन। यसको लागि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर जग्गाको भोगाधिकार स्थानीय तहमा आएपछि मात्र पाउने उनले बताए।

‘विकासमा वन बाधक हुँदैन। उद्योग खोल्दा रोजागरी सिर्जना हुन्छ, विकास हुन्छ तर वन ऐन विपरीत काम गर्न पनि मिल्दैन’, उनले भने– ‘स्थानीय सरकार भए पनि आवश्यक कानुनी प्रक्रिया पूरा हुनुपर्छ। हामीले त्यही सुझाव दिएका छौं।’

उपभोक्ता समूहकी अध्यक्ष यमुना राईले पनि साबुन उद्योग आफ्नो ठाउँमा खोल्दा रोजगार सिर्जना हुने भएकाले स्थानीय खुशी भएको बताइन् तर कानुनी प्रक्रिया पूरा गरेर मात्र उद्योग खोल्न उनले पनि उपमहानगरपालिकालाई आग्रह गरेकी छिन्। ‘हामी त स्वागत नै गर्छौं, रोजगारी सिर्जना हुन्छ। कृषिजन्य कुराहरू खपत हुन्छन्’, उनले भनिन्– ‘तर वनको जग्गा भएकाले आवश्यक कानुनी प्रक्रिया पूरा हुनुपर्छ भनेका छौं।

प्रकाशित : आइतबार, असोज ०९, २०७९०८:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सिट बाँडफाँटलाई लिएर गठबन्धन घटकहरु भित्र अन्तरिक कलह, गठबन्धन संकटमा !