काठमाडौँ – नापी विभागको अभिलेखमा काठमाडौं महानगरपालिकाभित्र रहेको जय नेपाल सिनेमा हलदेखि कमलादी मोडसम्म टुकुचा खोला देखिन्न। तर महानगरपालिकाले भने सहरी विकास मन्त्रालयअन्तर्गतको वाग्मती सुधार आयोजनाले गरेको पूर्वसम्भाव्यता अध्ययन रिपोर्टलाई पछ्याएर भूमिगत टुकुचा खोतल्न सुरु गरेको छ।
नापीनक्सा नै नभएको भूमिगत टुकुचाको कसरी पूर्व सम्भाव्यता (प्रिफिजिबिलिटी) अध्ययन रिपोर्ट तयार भयो? महानगरपालिकाले भूमिगत टुकुचा खोला खुला गर्न सुरु गरेपछि यो प्रश्न उठेको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।
सहरी विकास मन्त्रालय मातहतको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिअन्तर्गतको वाग्मती सुधार आयोजनाले टुकुचा खोलाको पूर्वसम्भाव्यता अध्ययन गरेको हो। आयोजनाले टुकुचाको पानीको मात्रा मापन गर्ने प्रयोजनका लागि मात्र पूर्व सम्भाव्यता अध्ययन गरी रिपोर्ट तयार गरिएको प्रस्ट पारेको छ।
सहरी विकास मन्त्रालयको निर्देशनमा वाग्मती सभ्यता एकीकृत विकास समितिअन्तर्गतको वाग्मती सुधार आयोजनाले २०७७ सालमा बोनाफाइट इन्जिनियरिङ कन्सल्टेन्सीलाई टुकुचा खोला (५.९ किलोमिटर) को पूर्वसम्भाव्यता अध्ययन गरी रिपोर्ट बुझाउन जिम्मा दिएको थियो। त्यस क्रममा कन्सल्टेन्सीले भूमिगत टुकुचा क्षेत्रको पनि पूर्वसम्भाव्यता अध्ययन गरेको थियो।
४ लाख ९५ हजार रूपैयाँमा पूर्वसम्भाव्यता अध्ययन गर्न उक्त कम्पनीसँग सम्झौता भएको वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। ‘हामीले टुकुचाको पानी प्रशोधनका लागि पानीको मात्रा मापन गर्ने उद्देश्यले मात्र पूर्वसम्भाव्यता अध्ययन गरी रिपोर्ट तयार गर्न लगाएका हौं’, वाग्मती सभ्यता एकीकृत विकास समितिका सदस्य सचिव एवं वाग्मती सुधार आयोजनाका प्रमुख दिलीप भण्डारीले भने, ‘अहिले जसरी सहरी विकास मन्त्रालयले तयार गरेको डिपिआरका आधारमा टुकुचा खोतलियो भनिँदैछ, यथार्थ त्यस्तो होइन। टुकुचाको पानी मापन गर्ने प्रयोजनका लागि मात्र पूर्वसम्भावयता अध्ययन गरिएको हो, खोतल्न होइन। यो डिपिआर पनि होइन, पूर्वसम्भाव्यता अध्ययन हो।’
उनले डिपिआर बनाउन नापीनक्सा हुनैपर्छ तर पूर्वसम्भाव्यता अध्ययन नापीनक्सा नभए पनि सेटलाइट इमेजबाट गर्न सकिने बताए। टुकुचा खोलाको पूर्वसम्भाव्यता अध्ययन मात्र भएको वाग्मती सुधार आयोजनाको भनाइ छ। इन्जिनियरहरू भने पूर्वसम्भाव्यता अध्ययनका लागि पनि नापीनक्सा नभई नहुने बताउँछन्।
वरिष्ठ इन्जिनियर तथा कसमस कलेज अफ मेनेजमेन्ट टेक्नोलोजीका निर्देशक उद्धव चौलागाईंले नापीका सबै किसिमका नक्सा नभई डिपिआर तथा पूर्वसम्भाव्यता अध्ययन गर्न सम्भव नहुने बताए। ‘नक्सा नभईकन फिल्डमा कति र कस्तो जग्गा छ भन्ने कसरी थाहा पाउने?’ उनले भने, ‘पूर्वसम्भाव्यता तथा सम्भाव्यता अध्ययनका लागि नापी नक्सा पहिलो आवशयकता हो।’
वाग्मती सुधार आयोजनाका एक उच्च कर्मचारी पनि चौलागाईंको भनाइमा सहमति जनाउँछन्। ती कर्मचारीले भने्, ‘बोनाइफाइट इन्जिनियरिङ कन्सल्टेन्सीले तयार गरेको पूर्वसम्भाव्यता अध्ययन रिपोर्टसँग म आफैं सन्तुष्ट छैन। नक्सा नै नभईकन कसरी पूर्वसम्भाव्यता अध्ययन गरी रिपोर्ट तयार पारियो, मैले बुझ्न सकेको छैन।’