काठमाडौं । नेपालीको आँगनमा दसैँको आगमन भइसकेको छ । यो पर्वको मुख्य आकर्षण भनेको मासु, रंगीचंगी लुगाफाटो र आफूभन्दा ठुलोबाट आशिष लिने हो । अधिकांश नेपालीले दसैँमा अनिवार्य रूपमा मासु खान्छन् । त्यसमा पनि खसीबोकाको मासु नभए नेपालीले यो पर्वलाई खल्लो मान्छन् । उसो त शाकाहारी समुदायले पनि दसैँ उल्लासमय वातावरणमै मनाउने गर्छन् । तर दसैँ र मासु भनेको एकअर्काको पर्यायवाची शब्द हुन् ।
उच्च वर्गदेखि दैनिक ज्यालादारीमा काम गर्ने समूहले पनि सकेसम्म मासुको जोहो गरी दसैँ मनाउने चलन छ । चाहे त्यो खसी÷बोकाको मासु होस् वा कुखुराको । नेपालमा सबैभन्दा बढी मासुको खपत दसैँको सात दिनको अवधिमा हुन्छ । पशु सेवा विभागका अनुसार दसैँको समयमा अन्य समयभन्दा मासुको खपत झण्डै आठ गुणाले बढी हुने गरेको छ । सप्तमीदेखि प्रतिव्यक्ति मासुको उपभोग दर दैनिक २८ ग्रामबाट बढेर सरदर २ सय १२ ग्रामसम्म पुग्छ ।
विभागका अनुसार दसैँको अवधिमा उपत्यकासहित देशभरगरी राँगा, माछा, खसी÷बोका र च्याङ्ग्राको ९ करोड १९ लाख ६ हजार किलो मासुको खपत हुन्छ । यसको बजार मूल्य ७५ अर्ब ५६ करोड २० लाख ८० हजार रुपैयाँ हुन आउँछ । अण्डा, कुखुरा, हाँस, बंगुरलगायतका मासुको लेखाजोखा यसमा छैन । अर्थात दसैँको अवधिमा नेपालीले यो मूल्य बराबरको मासु सेवन गर्दै आएका छन् । दसैँमा देवी दुर्गालाई बलि दिने र घरमै मार हानेर मासु खाने चलन पनि रहेकाले उपत्यकासहित देशभर साढे ७५ अर्ब रुपैयाँको मासु नेपालमा उपभोग हुने गरेको छ ।
यो वर्ष भने मासुको उपभोग दर अझै बढ्न सक्ने सरोकारवाला विज्ञहरूको भनाइ छ । यो वर्ष कोभिड–१९ को महामारी नियन्त्रित रूपमा रहेको, सरकारी कर्मचारीको तलब पनि वृद्धि भएको तथा मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका कारण पनि मासुको खपत बढ्न सक्ने अनुमान गरिएको छ ।
अधिकांश नेता मत माग्दै दसैँमा गाउँ झर्ने र यहि बेला कार्यकर्तालाई रिझाउने उद्देश्यले खसी÷बोका ढालेर भोज भतेर गर्ने अवस्था पनि सिर्जना भएको छ । यसले गर्दा यसपटकको दसैँमा मासुको खपत अत्यधिक बढ्न सक्ने चौपाया खरिद बिक्री सेवा संघका पूर्वअध्यक्ष दीपक थापा बताउँछन् ।
पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत एवं प्रवक्ता चन्द्र ढकालका अनुसार दसैँको अवधिमा उपत्यकामा ५० हजार खसी÷बोकाको माग हुन्छ । उपत्यका बाहेकको क्षेत्रमा पनि ३० लाख गोटा खसी÷बोकाको माग हुन्छ । ‘सामान्य दिनभन्दा दसैँको समयमा दैनिक खपत करिब दोब्बर परिमाणले बढ्छ,’ ढकालले भने ।
यसैगरी यो समयमा पाँच हजार गोटाको संख्यामा च्याङ्ग्रा पनि खपत हुन्छ । यही अवधिमा १ हजार ५ सय गोटा राँगा पाडा पनि खपत हुन्छ । दसैँको सात दिनको अवधिमा ४९ हजार गोटा हाँस, १ हजार २ सय ९५ गोटा बंगुर र ९१ हजार किलो माछाको पनि माग हुन्छ ।
सामान्य दिनमा उपत्यकामा दैनिक १ हजार १ सयदेखि १ हजार २ सयको संख्यामा खसी/बोका खपत भए पनि दसैँ सुरु हुनासाथ उपत्यकामा खसी/बोकाको माग वृद्धि भएर दैनिक ७ हजार १ सय ४२ गोटासम्म पुग्छ । गत वर्ष कोभिड महामारीको तीव्र संक्रमण फैलिएका कारण सर्वसाधारणले चाहेर पनि रमाइलो गरी दसैँ मनाउन पाएका थिएनन् । यो वर्ष अधिकांश नेपालीले कोभिडविरुद्धको खोप लगाएको र कोभिडको संक्रमण दर पनि निकै घट्दो अवस्थामा रहेकाले दसैँ मान्न सर्वसाधारण निकै हौंसिएका छन् । यसले गर्दा मासुजन्य बस्तुको बजार निकै तातिएको छ ।