समानुपातिक सूचीमा कांग्रेसबाट आरजु, माओवादीबाट महरा ! सूचीमा अरु को-को ?

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवापत्नी एवं केन्द्रीय सदस्य आरजु राणा देउवालाई प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार बनाउने भएको छ । विभिन्न पाँच ठाउँबाट प्रतिनिधिसभामा उम्मेदवारका रूपमा नाम सिफारिस भए पनि अन्तिममा उनलाई समानुपातिकको सूचीमा राखिएको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

स्रोतका अनुसार पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको नाम पनि समानुपातिक सूचीमा समेटिएको छ । त्यस्तै सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियारलाई पनि समानुपातिकको सूचीमा राखिएको एक नेताले बताए । त्यस्तै, केन्द्रीय सदस्य अम्बिका बस्नेतको नाम पनि समानुपातिकमा छ । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहितका नेता आयोग पुगेर बन्दसूची बुझाएका हुन् ।

माओवादीको सूचीमा महरा

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची पेस गरेको छ । दाङ क्षेत्र न २ बाट एमाले महासचिव शंकर पोखरेलसँग प्रतिष्पर्धा गर्ने भनी चर्चा गरिएका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महरा समानुपातिक सूचीमा बसेका छन् । सोमबार निर्वाचन आयोगमा बुझाइएको प्रतिनिधिसभाको समानुपातिक सूचीमा महराको नाम रहेको एक पदाधिकारीले जानकारी दिए । अघिल्लो निर्वाचनमा दाङ–२ बाट निर्वाचित भएका महरालाई धेरै ठाउँबाट चुनाव लड्न माग भई आएको भए पनि उनले समानुपातिकमा बस्ने इच्छा व्यक्त गरेको ती नेताले बताए ।

एमालेको बन्दसूची : बादल परेनन्

नेकपा (एमाले) ले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातितर्फको बन्दसूची बुझाएको छ । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाउन तयार पारेको प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारहरूको बन्दसूचीमा उपाध्यक्ष रामबहादुर थापा बादललगायत कोही पनि पदाधिकारी परेका छैनन् ।

एमालेले तयार पारेको मापदण्डकै कारण चार जना पदाधिकारीको समानुपातिक सांसद बन्ने बाटो रोकिएको छ । उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा र उपमहासचिव विष्णु रिमालले समानुपातिक उम्मेदवार बन्न नपाउने भएका हुन् । ज्ञवाली, शाक्य र रिमाल यसअघि नै एमालेको समानुपातिकतर्फ बसिसकेका छन् । त्यसमाथि पदाधिकारीलाई समानुपातिकको सूचीमा नराख्ने एमालेले मापदण्ड नै बनाएको छ ।

एकीकृत समाजवादीले बुझायो ३ सय ३० को नाम

नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची पेस गरेको छ । एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरका अनुसार सोमबार निर्वाचन आयोगमा प्रतिनिधिसभातर्फ १ सय १० र प्रदेशसभातर्फ २ सय २० जनाकै नामावली बुझाइएको छ ।

प्रकाशित : मङ्गलबार, असोज ०४, २०७९०६:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सुपथ मूल्य पसल कति ‘सुपथ’ ? हेर्नुहोस्