सुपथ मूल्य पसल कति ‘सुपथ’ ? हेर्नुहोस्

काठमाडौँ, चाडपर्वलाई लक्षित गर्दै सञ्चालन गरिएका सुपथ मूल्य पसलमा उपभोक्ताको भीड लाग्न थालेको छ । चाडपर्वका बेला उपभोग्य वस्तुको माग बढी हुने भएकाले उपभोक्ता नठगिऊन् भनेर सरकारले विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।

सरकारको अनुदानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट टे«डिङ कर्पोरेसन र दुग्ध विकास संस्थान (डीडीसी)ले शनिबारदेखि उपत्यकासहित देशका विभिन्न भागमा सुपथ मूल्य पसल सञ्चालन गर्दै आएका छन् ।

यी निकायले सरकारी अनुदान लिएर उपभोक्तालाई सुपथ मूल्यमा सामान बिक्री गर्ने भएकाले उपभोक्ताको आकर्षण रहने गरेको छ तर केही वस्तुमा भने बजार मूल्यभन्दा बढी मूल्य तोकिएको पाइएको छ ।

महँगोमा खरिद

सरकारले सञ्चालनमा ल्याएका सुपथ मूल्य पसलमा सनफ्लावर तेल र मैदाको मूल्य बजारमा भन्दा महँगो भएको पाइएको छ । बजारमा सनफ्लावर तेलको मूल्य प्रतिलिटर २९० रुपियाँमा कारोबार भएकामा सुपथ मूल्य पसलमा प्रतिलिटरमा सात रुपियाँ छुट गरेर पनि २९५ रुपियाँ रहेको छ । यो मूल्य बजारको भन्दा पाँच रुपियाँ बढी हो ।

यस्तै खुला बजारमा मैदा प्रतिकेजी ८० रुपियाँमा किनबेच भइरहेको छ भने सरकारले सञ्चालन गरेका सुपथ मूल्य पसलमा प्रतिकेजी मैदा ८४ रुपियाँ तोकिएको छ । यो बजारको भन्दा प्रतिकेजीमा चार रुपियाँ बढी हो ।

यसैगरी तराई ताइचिन चिउरा बजारमा प्रतिकेजी ७५ रुपियाँ पाइने गरेकामा खाद्य कम्पनीमा ७८ र साल्ट ट्रेडिङमा ८० रुपियाँ रहेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले डेढ महिनाअघि टेन्डर आह्वान गरेर खरिद गर्दा प्रतिलिटर ३०२ रुपियाँ परेकाले अहिले सनफ्लावर तेलमा प्रतिलिटर सात रुपियाँ छुट गर्दा पनि बजारको भन्दा केही महँगो भएको भन्ने कुरा आएपछि केही घटाउने विषयमा छलफल भएको जानकारी दिनुभयो ।

बजार मूल्य कम रहेमा त्यसैअनुरूप सुपथ मूल्य पसलमा पनि मूल्य कम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी बजार बुझ्छौँ, बजारभन्दा महँगो भएको भए केही घटाउँछौँ । यसो गर्दा कम्पनीलाई नोक्सान भने हुन्छ ।” उहाँले गुणस्तरमा फरक भएर पनि मूल्यमा तलमाथि हुने बताउनुभयो ।

उपभोक्ता अधिकार तथा अनुुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले सहुलियत पसलमा सात रुपियाँ छुट दिँदा पनि बाह्य बजारको भन्दा महँगोमा केही सामानमा बिक्री भएको पाइएको बताउनुभयो । “अहिलेको मूल्य सच्चिनुपर्छ, ब्रान्ड वा जुनसुकै बहानामा महँगो मूल्य लिन पाइँदैन,” उहाँले भन्नुभयो ।तिमिल्सेनाले व्यापारीसँगको मिलेमतोमा कम्पनीले महँगोमा वस्तु किनेको आरोप लगाउनुभयो ।

नेपाल खुद्रा व्यापार सङ्घका महासचिव अमुुलकाजी तुलाधरले चामल, चिउरा महँगो हुन सक्ने भए पनि खानेतेलको कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारमै घटेकाले अझै घट्न सक्ने बताउनुभयो ।

अधिकांश वस्तु सस्तो

 

प्रमुख कार्यकारी अधिकृतका चन्दका अनुसार दाल, चामल, चिउरालगायतका वस्तु भने बजारमा भन्दा धेरै सस्तो भएको तर पहिले नै खरिद गरिएकाले सनफ्लावर तेल केही महँगो भएको बताउनुभयो । खाद्य कम्पनीले दाल, चामल, चिउरा, कर्णालीको सिमी, तेललगायत गरी २४ प्रकारका खाद्यवस्तुमा प्रतिकेजी र प्रतिलिटरमा सात रुपियाँदेखि १० रुपियाँसम्म छुट दिएको छ । क्वाँटी, कर्णालीको सिमी र जिउँदो खसी र च्याङ्ग्रामा प्रतिकेजी १० रुपियाँ छुट दिएको छ भने मोटा, मध्यम मसिना गरी नौ प्रकारका चामल, दलहन, तेल, गेडागुडी, आँटामा पनि छुट रहेको उहाँले जानकारी दिनुभयो । खाद्य कम्पनीले उपत्यकाका चार स्थानसहित ४५ स्थानबाट ती छुटका खाद्यान्न बिक्री गरिरहेको छ ।

गोरखापत्रबाट

प्रकाशित : मङ्गलबार, असोज ०४, २०७९०७:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चाहिने भन्दा बढी नुन खान्छन् नेपाली, स्वास्थ्यमा यस्ता गम्भीर असर !